बन्दीपुरमा धमाधम बन्दै ‘मिनी ग्रेटवाल’, १४०० मिटर निर्माण सम्पन्न

तनहुँ । बन्दीपुरमा निर्माण गर्न लागेको बन्दीपुर मिनी ग्रेटवालको १ हजार ४०० मिटर कार्य सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिका– २ स्थित थानीमाई मन्दिरबाट मुकुन्देश्वरी डाँडासम्मको ४ किलोमिटरमध्ये हालसम्म उक्त दूरीको कार्य पूरा भएको हो ।

 

चीनको जस्तै झल्को दिने गरी बन्दीपुर मिनी ग्रेटवाल नाम दिइएको मणिमुकुन्देश्वरी पर्खाल निर्माणमा रु एक करोडको काम भइसकेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

 

हालै ५ करोड रुपैयाँको बोलपत्र परेको छ । उनले भने, ‘आधुनिक पदमार्ग बन्दीपुर बजारबाट सुरु भई थानीमाई, समिभञ्ज्याङ हुँदै मुकुन्देश्वरी गढी जोड्ने योजना रहेको छ ।’ ‘थानीमाई मुकुन्देश्वरी पर्यटकीय पदमार्ग’ नामकरण गरी थालिएको पदमार्गको चौडाइ चार मिटर र पर्खालको उचाइ दुई फिट रहेको छ ।

 

‘मिनी ग्रेटवाल’ निर्माणपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको छ । अन्य दिनको तुलनामा बिदा, शुक्रबार र शनिबारका दिन पर्यटकको बाक्लो भीड लाग्ने गरेको अध्यक्ष थापाले बताए। पछिल्लो समय बाह्य पर्यटकको समेत चहलपहल बढ्न थालेको छ । पर्यटन पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु सात करोड विनियोजन भएको छ ।

 

नेपाल सरकारको ४ करोड ५५ लाख नेपाल सरकारको र गाउँपालिकाको २ करोड ४५ लाख साझेदारी रहेको जनाइएको छ । उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटल लगायतका संरचना निर्माण गर्ने योजना छ ।

 

डुम्रे बजारबाट ९ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पुग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा हेर्न सकिन्छ । पश्चिमको धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङ्टाङ, हिमशृङ्खलाका सयौँ चुचुरा बन्दीपुरबाट सजिलै देख्न सकिन्छ ।रासस

आइएमई जनरलका सीईओ श्रेष्ठ 'आउट स्ट्यान्डिङ म्यानेजमेन्ट अवार्ड'बाट सम्मानित Read Previous

आइएमई जनरलका सीईओ श्रेष्ठ 'आउट स्ट्यान्डिङ म्यानेजमेन्ट अवार्ड'बाट सम्मानित

श्रीलंकाद्वारा विदेशी ऋण नतिर्ने घोषणा, कति छ तिर्न ? Read Next

श्रीलंकाद्वारा विदेशी ऋण नतिर्ने घोषणा, कति छ तिर्न ?