काठमाडौं । सेयर बजारमा लगातार पहिरो गएको छ । सोमबार एकैदिन ४४ अंकले घटेको नेप्से आज पनि साढे ३४ अंकले घटेको हो । पछिल्ला दुई दिनमै नेप्से ७९ अंकले घटेको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७५ करोडले घटेर डेढ अर्बमा सीमित भएको छ ।
मंगलबार सेयर बजार मापक सूचक नेप्से ३४.७८ अंकले घटेर २३८५.०२ विन्दुमा आइपुगेको छ । यसदिन २३७ कम्पनीको १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँ बराबरको ३७ लाख ८३ हजार २४ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.४ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा, लगानी र अन्य समूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज करोबारमा आएको २३७ कम्पनीमध्ये जम्मा २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २०३ कम्पनीको घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको पौने ६ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, नबिल बैंकको ४ करोड र शिवम सिमेन्टको पौने ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले घटेको बजारमा नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
घट्दो बजारमा आज इमर्जिङ नेपालको सेयर मूल्य सबैभन्दा धेरै ६.५९ प्रतिशतले घटेको छ । त्यसैगरी, न्यादी हाइड्रोपावर ६.०७, घलेम्दी हाइड्रो ५.९०, राष्ट्र उत्थान लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।
त्यस्तै, आँखुखोला, तेह्रथुम पावर, समृद्धि फाइनान्स र मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।