काठमाडौं । वाग्मती प्रदेश सरकारले वैशाख १ गतेदेखि लागू हुने गरी सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । सरकारले काठमाडौं उपत्यकासहित प्रदेशभर छोटो दूरीमा लागू हुनेगरी भाडा वृद्धि गरेको हो ।
वाग्मती प्रदेश यातायात मन्त्रालयका अनुसार अब वाग्मती प्रदेशमा सार्वजनिक यातायात चढ्ने बित्तिकै न्यूनतम् २० रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । सरकारले ५ किलोमिटरसम्मको न्यूनतम भाडादर २० रुपैयाँ तोकेको हो । यसअघि न्यूनतम भाडादर १८ रुपैयाँ थियो ।
यस्तै, १० किलोमिटरसम्मको २५, १५ किलोमिटरसम्मको ३० रुपैयाँ र २० किलोमिटरसम्मको ३३ रुपैयाँ तोकिएको छ । यस्तै, २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३८ रुपैयाँ भाडा तिर्नुपर्ने छ ।
त्यस्तै, सरकारले ट्याक्सीको पनि भाडा बढाएको छ । अब ट्याक्सीको सुरुको फ्याग डाउन ५० रुपैयाँ कायम गरिएको छ । त्यसपछि प्रति २०० मिटरको १० रुपैयाँ र प्रतिक्षा (कुर्नु परे/जाममा परे) प्रतिमिनेट १.२० रुपैयाँ तिर्नुपर्नेछ ।
