काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ता (क्यूआइआइ)को रूपमा काम गर्न अनुमति दिएको छ । सेबोनको नियमन तथा व्यवस्थापन विभागले चैत २३ गते थप ८ संस्थाहरूलाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो ।
बोर्डबाट क्यूआइआइको मान्यता पाउने संस्थाहरूमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), सानिमा लार्ज क्याप फन्ड, नेपाल दूरसञ्चार कम्पनी, प्रभु सेलेक्ट फन्ड, अल्फा इन्भेस्टमेन्ट, स्काई टच इन्भेस्टमेन्ट एन्ड कन्सल्टेन्ट, टेलिभेन्चर पार्टनर्स र महालक्ष्मी विकास बैंक रहेका छन् ।
बोर्डबाट अनुमति पाएसँगै अब यी कम्पनीहरूले बुक बिल्डिङ विधिबाट जारी हुने कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्काशनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन पाउने छन् । साथै, संस्थागत लगानीकर्ताका रूपमा समेत सेयर किनबेच गर्न पाउने छन्।
यी ८ सहित बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको स्वीकृति पाउने कम्पनीको संख्या ९५ पुगेको छ। यसअघि ८७ कम्पनीले विभिन्न मितिमा योग्य संस्थागत लगानीकर्ताको मान्यता पाएका थिए ।