काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि हुँदा नेपालमा औषधि उत्पादन प्रभावित हुन थालेको छ । कच्चा पदार्थको मूल्य वृद्धि भएसँगै औषधि उद्योगले उत्पादन घटाउन थालेका हुन् ।
कच्चा पदार्थसँगै ढुवानी लागत बढ्दा उत्पादन लागत बढेको उद्योगीहरूले बताएका छन् । लागत बढे पनि सरकारले औषधिको मूल्य बढाउन अनुमति नदिएको उनीहरूको भनाइ छ ।
नेपाल औषधि उत्पादक संघले कच्चा पदार्थ र ढुवानी लागत बढे पनि औषधिको मूल्य भने यथावत रहेको बताएको छ । कच्चा पदार्थको मूल्य झन्डै १० प्रतिशत हाराहारी र ढुवानी लागत दोब्बरभन्दा धेरैले बढेको संघले जनाएको छ ।
लागत मात्र बढ्ने तर औषधिको मूल्य नबढ्ने हो भने उद्योगहरू संचालन हुनै नसक्ने अवस्था आउने संघले बताएको छ । २०६४ सालमा तोकिएको औषधिको मूल्य हालसम्म पनि सोही मूल्य कायम रहेको संघको भनाइ छ ।
‘उद्योगीले घाटा खाएर औषधि बेच्न सक्दैनन्’
नेपाल औषधि उत्पादन संघका अध्यक्ष प्रज्वलजंग पाण्डे घाटा खाएर औषधि उद्योग संचालन गर्न नसक्ने बताउँछन् । ‘कच्चा पदार्थको मूल्य औषतमा ४ देखि ६ प्रतिशतसम्म वृद्धि भएको छ । ढुवानी लागत दोब्बर भएको छ । तर, औषधिको मूल्य भने यथावत छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘उद्योगीले घाटा खाएर औषधि बेच्न सक्दैनन्, यही अवस्था रहे उद्योग बन्द गर्नुपर्ने हुनसक्छ ।’
वर्षेनी हरेक वस्तुको मूल्य वृद्धि भए पनि औषधिको मूल्य भने डेढ दशकदेखि एउटै रहेको पाण्डेले बताए । ‘ वर्षेनी हरेक वस्तुको भाउ बढेको बढ्यै छ । औषधिको कच्चापदार्थ, ढुवानी लागत, श्रमिक खर्च, बिजुली, तेल लगायतका सबै वस्तुको मूल्य बढेको छ । जसले लागत धेरै वृद्धि भएको छ,’ उनले भने, ‘तर औषधिको मूल्य १५ वर्ष अघिकै छ, लागत धान्ने अवस्था छैन ।’
आफूहरूले लागत अनुसार मूल्य समायोजन गर्न आग्रह गरे पनि सरकारले सुनुवाइ नगरेको उनले बताए । ‘हामीले सरकारसँग लागत अनुसार मूल्य समायोजन गर्न आाग्रह गरेको लामो समय भयो, तर सुनुवाई भएको छैन । सरकारले व्यवसायीको पीडा नदेखे झैं गरिराछ,’ उनी भन्छन् ।
मूल्य समायोजन नहुँदा उत्पादन घट्यो
केही महिना अघि नेपालमा प्यारा सिटामोल अभाव भएको थियो । लागत समेत नउठ्ने भएपछि व्यवसायीले उत्पादन कटौती गर्दा अभाव भएको थियो ।
अहिले पनि उद्योगीहरूले घाटा खाएर सिटामोल उत्पादन गर्दै आएको पाण्डे बताउँछन् । ‘१५ वर्ष अघि प्यारासिटामोलको मूल्य १ रुपैयाँ तोकिएको थियो, जुन बेला कच्चा पदार्थको मूल्य प्रतिकिलो करिब १५० डलर थियो, अहिले हजार डलरभन्दा माथि पुगेको छ । तर मूल्य उही छ,’ पाण्डेले भने ।
मूल्य समायोजन नहुँदा अहिले अन्य अत्यावश्यक औषधिहरूको समेत उत्पादन घटेको संघले जनाएको छ । अहिले प्यारासिटामोल, जीवनजल स्लाइन लगायतको उत्पादन न्यून रहेको पाण्डेले बताए । मूल्य समायोजन नगरे र यही अवस्था रहे राज्यले ठूलो नोक्सानी बेहोर्नु पर्ने संघले बताएको छ ।
‘सबै वस्तुको मूल्य बढ्यो, औषधिको बढेन । राज्यका सबै अंगले उत्तिकै जिम्मेवारी लिएर यसलाई यथाशिघ्र सम्बोधन गर्नुपर्छ, विश्व बजारबाट आयात हुने जुनसुकै वस्तुको मूल्य बढेको छ । बाहिरबाट ल्याउन सक्ने अवस्था छैन, कच्चा पदार्थ यहाँ उत्पादन गर्न सक्ने अवस्था छैन, सरकारले मूल्य समायोजन गर्न ढिलाइ गर्न हुन्न,’ उनले भने ।
हाल संघमा १०० वटा उद्योग आबद्ध छन् भने ७० वटाले औषधि उत्पादन गर्दै आएका छन् । औषधि उद्योगमा झन्डै १ खर्ब लगानी रहेको बताइएको छ ।