आयल निगमलाई सरकारी कोषबाट सवा ४ अर्ब दिइने

काठमाडौं । नेपाल आयल निगमलाई सरकारले सवा ४ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई भुक्तानी गर्न निगमसँग रकम नपुगेपछि सरकारले मूल्य स्थिरीकरण कोषबाट ४ अर्ब २० करोड रुपैयाँ दिने भएको हो ।

 

निगमका अनुसार आगामी शुक्रबार आईओसीलाई इन्धनबापतको १९ अर्ब ४७ करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । सो रकममध्ये निगमसँग हाल १३ अर्ब रुपैयाँ मात्रै रहेकाले सरकारले ४ अर्ब २० करोड उपलब्ध गराउन लागेको निगमले जाएको छ ।

 

सरकारले यसअघि पनि निगमलाई पटक पटक अपुग रकम उपलब्ध गराउँदै आएको छ । किनेकोभन्दा कम मूल्यमा इन्धन बेच्नु परेपछि निगमको घाटा चुलिँदै गएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढ्दा यस वर्षको सुरुदेखि निगम घाटामा चल्दै आएको छ । निगमले हाल मासिक ९ अर्ब बढी घाटा व्यहोर्दै आएको छ भने हालसम्म घाटा ३३ अर्ब नाघेको जनाएको छ ।

 

मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले इन्धनको मूल्य बढाएको थियो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ तथा ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएको थियो । मूल्य बढेपछि पेट्रोल प्रतिलिटर १६०, डिजेल र मट्टितेल १४३ तथा खाना पकाउने ग्यास प्रतिसिलिण्डर १६०० रुपैयाँ कायम भएको छ ।

विनोद चौधरी भारतबाहेक दक्षिण एशियाका एक्ला अर्बपति, १ वर्षमा बढ्यो १२ अर्ब सम्पत्ति Read Previous

विनोद चौधरी भारतबाहेक दक्षिण एशियाका एक्ला अर्बपति, १ वर्षमा बढ्यो १२ अर्ब सम्पत्ति

रोकिएन सेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

रोकिएन सेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी