काठमाडौं । इमर्जिङ नेपालको सेयर मूल्यमा लगातार नेगेटिभ सर्किट लागेको छ । लागातार २० औं कारोबार दिनसम्म पोजेटिभ सर्किट लागेको कम्पनीको सेयर मूल्यमा मंगलबारदेखि उल्टो सर्किट लागेको हो ।
पछिल्ला दुई कारोबार दिनमा इमर्जिङ नेपालको सेयर मूल्य दैनिक १० प्रतिशतले घटेको छ । दुई दिनमै कम्पनीको भाउ प्रतिकित्ता २९१ रुपैयाँ घटेको छ ।
फागुन २२ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य २० औं दिनसम्म दैनिक १० प्रतिशतले बढेर १४८१ रुपैयाँ पुगेकोमा बुधबार घटेर ११९० रुपैयाँमा आइपुगेको छ ।
यसअघि सस्तोमा सेयर उठाएकाहरुले प्रफिट बुक गर्न विक्री चाप बढ्दा मूल्यमा गिरावट आएको हो । आज (१२ बजेसम्म) कम्पनीको २९ हजार बढी कित्ता सेयर विक्रीमा रहे पनि खरिदकर्ता भने शून्य रहेका छन् ।
वित्तीय अवस्था तुलनात्मक रुपमा कमजोर नै रहे पनि स्वार्थ समूहहरुले चलखेल गरी कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा उचालेका थिए ।
नेप्सेमा कम्पनीको ५५ लाख ५६ हजार कित्ता सेयर सूचीकृत छ । जसमा सर्वसाधरणको ५ लाख ५५ हजार ६०० कित्ता र संस्थापकको ५० लाख ४० कित्ता रहेको छ ।