काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम झन्डै आधा सम्पन्न भएको हो ।
नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार हालसम्म सुरुङ खन्ने काम ४८.७ प्रतिशत पूरा भएको छ । आयोजनाका अनुसार हालसम्म २ हजार ६७६ मिटर सुरुङ खनिएको हो ।
तिहारपछि कामको गति बढाएको आयोजनाले कुल ५ हजार ४९९ मिटरमध्ये २ हजार ६७६ मिटर सुरुङ खन्ने काम पूरा गरेको हो । कामलाई तीव्रता दिन हाल दैनिक करिब १० मिटर सुरुङ खन्न थालिएको छ ।
कोभिडमा समेत लगातार काम भइरहेको नागढुंगा सुरुङमार्गमा हालसम्म कुल २ हजार ६८८ मिटर मुख्य सुरुङमध्ये १ हजार ११७ मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ५५८ मिटर र धादिङतर्फ ५५९ मिटर मुख्य टनेल खनिएको छ ।
त्यसैगरी, आपतकालीन (स्केप टनेल) सुरुङ अन्तर्गत हालसम्म १ हजार ३८५ मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ८०८ मिटर र धादिङतर्फ ५७७ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।
हालसम्म आयोजनाको समग्रमा ३५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ४३ प्रतिशत प्रगति भएको छ ।
त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ४८ मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३२ मिटर र धादिङतर्फ १६ मिटर निर्माण गरिएको छ ।
यो सुरुङमार्ग करिब २ हजार ६८८ मिटर हुनेछ । काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।
आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै २ हजार ८२३ मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।
तोकिएकै समयमा सकिन्छ
नागढुंगा सुरुङमार्गको निर्माण अवधि २०७९ चैत २३ गतेसम्म रहेको छ । कोभिडका कारणले ढिलाइ हुन गएकोमा थप ८६ दिन म्याद थप गरिएको छ ।
उक्त समय अनुसार नागढुंगा सुरुङमार्गको कुल निर्माण सम्पन्न हुन अब १५ महिना बाँकी रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना म्यानेजर नरेशमान शाक्यले बताए ।
उनका अनुसार तोकिएको समयावधिमा नै निर्माण सम्पन्न हुने छ । ‘हामी तीव्र गतिमा काम गरिरहेका छौं, हाम्रो सुरुको म्याद सकिए पनि कोभिडका कारण ढिलो भएको हुँदा ८६ दिन म्याद थप भएको छ, यस समय भित्र सबै निर्माणको काम सकिनेछ,’ शाक्यले चाणक्य पोष्टसँग भने ।
