निर्जीवन बीमा कम्पनीको व्यवसाय २५ प्रतिशत वृद्धि, कुनको कति ?

काठमाडौं । पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरू व्यवसाय विस्तारमा आक्रामक देखिएका छन् । चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुन)मा कम्पनीहरूको बीमा शुल्क संकलन २५ प्रतिशले वृद्धि भएको हो ।

 

निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय गत वर्षको तुलनामा यसवर्ष ५ अर्ब ९ करोड रुपैयाँले वृद्धि भएको बीमा समितिको तथ्यांकले देखाउँछ । गत वर्षको फागुन मसान्तसम्म कुल २० अर्ब २० करोड रुपैयाँले बीमा शुल्क संकलन गरेका निर्जीवन बीमा कम्पनीहरूले चालु वर्षको सोही अवधिमा २५ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेका छन् ।

 

कोरोना महामारीले सिथिल बनेको अर्थतन्त्र चलायमान हुनुका साथै आर्थिक गतिविधिमा सुधार आएसँगै बीमा कम्पनीहरूले व्यवसाय विस्तार बढाएका हुन् ।

 

पूँजी वृद्धिको दबाबमा परेका बीमा कम्पनीहरु व्यवसाय वृद्धि गर्नुपर्ने बाध्यतामा समेत छन् । हालै बीमा समितिले आगामी २०७९ चैतसम्म निर्जीवन बीमा कम्पनीहरूले चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउनुपर्ने व्यवस्था गरेको छ ।

 

शिखर इन्स्योरेन्स शीर्ष स्थानमा

 

हाल संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरू मध्ये शिखर इन्स्योरेन्स बीमा शुल्क संकलनमा शीर्ष स्थानमा रहेको छ । शिखरले चालु आवको फागुन मसान्तसम्म कुल ३ अर्ब १० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ४२ करोड बढी हो । गत वर्ष फागुनसम्म कम्पनीले २ अर्ब ६८ करोड रुपैयाँ बीमा शुलक संकलन गरेको थियो ।

 

व्यवसायमा शिखरपछि सगरमाथा बलियो देखिएको छ । यस कम्पनीले चालु आवमा २ खर्ब २२ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीको व्यवसाय विस्तार २५ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको समिक्षा अवधिमा यस कम्पनीले १ अर्ब ७७ करोड रुपैयाँ कुल शुलक आर्जन गरेको थियो ।

 

यसैगरी नेको इन्स्योरेन्सले १ अर्ब ९९ करोड, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

 

समीक्षा अवधिमा सबैभन्दा कम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेशनल इनस्योरेन्स कम्पनी रहेको छ । यसले चालु अवधिमा ५७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड रुपैयाँ शुल्क संकलन गरेको थियो ।

 

एनएलजी, प्रिमियर, हिमालय जेनरल, युनायटेड, आइएमई जेनरल, प्रभु, अजोड, राष्ट्रिय बीमा कम्पनी, लुम्बिनी इनस्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब रुपैयाँ बढी शुल्क संकलन गरेका छन् ।

 

हिमालयन जनरल इन्स्योरेन्स आक्रमक

 

व्यवसाय विस्तारमा निर्जीवन बीमा कम्पनीहरूमध्ये हिमालयन जनरल आक्रामक देखिएको छ । यस कम्पनीले गत वर्षको तुलनामा ८३.४७ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ ।

 

यस अवधिमा हिमालयनले व्यवसाय ५० करोड बढाएर १ अर्ब १० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

 

समीक्षा अवधिमा पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीको व्यवसाय भने विस्तार घटेको छ । कम्पनीको गत वर्षको तुलनामा फागुन मसान्तसम्म ५.८८ प्रतिशतले घटेर ८८ करोडमा सीमित भएको हो । यस कम्पनीले गत वर्षको सोही अवधिमा ९४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

 

हिमालयन जेनरल इन्स्योरेन्सपछि सानिमा जनरल इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै व्यवसाय विस्तार बढाएको छ । यस कम्पनीले ६३.३६ प्रतिशतले कुल बीमा शुलक संकलन बढाएको हो । यसैगरी, युनाइटेडले ४९.६३, जनरल इनस्योरेन्सले ३० प्रतिशतले व्यवसाय विस्तार बढाएका छन् ।

 

पशुपति क्षेत्र विकास कोष र मन्त्रीले राज्यशक्तिको दुरुपयोग गरे : बतास समूह Read Previous

पशुपति क्षेत्र विकास कोष र मन्त्रीले राज्यशक्तिको दुरुपयोग गरे : बतास समूह

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी