शेखर गोल्छाको भारतीय व्यवसायीलाई आग्रहः पहिला घुम्न आउनुहोस्, त्यसपछि लगानी

काठमाडौं । नेपालमा भारतीय लगानी बढाउन र भारततर्फकोे निर्यात सहजीकरणका लागि सरकार र निजी क्षेत्र दुवैले भारतसंग आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा आज भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानीको वातावरण सहज बनाउन आफु सधैँ तयार रहेको वताएका थिए ।

 

कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने वताउँदै प्रधानमन्त्री देउवाले त्यसका लागि वातावरण वनाउने वताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएको सम्झौताले विद्युत आदान प्रदान र रेल सेवा संचालनमा सहयोग पुग्ने देउवाको भनाई थियो ।

 

कन्फिडरेसन अफ इन्डियन इन्डिष्ट्रिज (सिआईआई) ले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । सिआईआई भारतमा महासंघको साझेदार संस्था हो ।

 

कार्यक्रममा महासंघ अध्यक्ष शेखर गोल्छाले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको वताए । पछिल्ला बर्षहरुमा भारतीय लगानी घटिरहेको भन्दै गोल्छाले भने, ‘यसलाई बढाउन निजी क्षेत्रको के कस्तो सहयोग चाहिन्छ हामी गर्न तयार छौ । सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्ष समेत स्थापना भएको
छ ।’

 

‘पहिले घुम्न आउनोस्, त्यसपछि लगानी गर्नुहोस्, अनि आम्दानी पनि गर्नुहोस्’, भन्दै गोल्छाले नेपालमा पर्यटन पुर्वाधार निर्माणदेखि अन्य क्षेत्रमा समेत धेरै सम्भावना रहेको बताए ।

 

नेपाल भारतका लागि नवौ ठूलो निर्यात गन्तव्य भएको सन्दर्भ प्रस्तुत गर्दै अध्यक्ष गोल्छाले नेपालले पनि भारतमा निर्यात बढाउन खोजिरहेको वताउनुभयो । नेपालको भारततर्फ र तेस्रो मुलुकको निर्यातमा भारतले सहजीकरण गरिदिनुपर्छ, उनले भने ।

 

कार्यक्रममा सिआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने वताए । सिआईआईको उर्जा संयन्त्र नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उनको भनाई थियो ।

 

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले नेपाल भारतबीचको संयुक्त व्यवसायिक फोरमको बारेमा जानकारी गराएकी थिइन् ।

 

छलफलमा अध्यक्ष गोल्छा सहित निवर्तमान अध्यक्ष भवानी राणा, पुर्व अध्यक्ष एवं विशिष्ठ सदस्य पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरु अन्जन श्रेष्ठ, रामचन्द्र संघाई तथा कार्यसमिति सदस्यहरु हेमराज ढकाल, भरतराज आचार्य, बिजय वैद्य, आनन्द वगारिया, प्रकाश सिंह कार्की, अम्बिका पौडेल, जम्शेर अलि मियाको सहभागिता थियो ।

ग्रीन भेञ्चर्सको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

ग्रीन भेञ्चर्सको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

ऊर्जा विकासमा कमजोर तयारी, बिजुली नसके हाइड्रोजन निर्यात गर्न सकिने Read Next

ऊर्जा विकासमा कमजोर तयारी, बिजुली नसके हाइड्रोजन निर्यात गर्न सकिने