स्वदेशमै बिलेट उत्पादन नीतिको सकारात्मक प्रभाव : विद्युत् खपत् बढायो, ३ अर्ब लगानी थपियो

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत स्टील उत्पादनमा प्रयोग हुने बिलेट आयात गर्दा लाग्ने अन्तःशुल्क बढाएर कच्चा पदार्थ ‘स्पञ्ज आइरन’ आयातको भन्सार घटाएको थियो । स्पञ्ज आइरनमा लाग्ने भन्सार शुल्क ५ प्रतिशतबाट शून्यमा झारेको थियो भने बिलेटमा लाग्ने अन्तःशुल्क प्रतिटन १६५० रुपैयाँबाट बढाएर २५०० रुपैयाँ पुर्याइएको थियो ।

 

सो नीतिको अहिले सकारात्मक नतिजा देखिन थालेको छ । उक्त व्यवस्थाले एकातिर विद्युत् खपत बढाएको छ भने अर्कोतर्फ बिलेटको आयात घटाएको छ । साथै, चालु आवको ८ महिनाको अवधिमा नेपाली डण्डी उद्योगमा ५ अर्ब बढी लगानी समेत थपिएको छ ।

 

सरकारले स्टील उद्योगहरुलाई स्वदेशमै बिलेट उत्पादन गर्न प्रोत्साहन गर्ने नीति लिएसँगै विद्युत् खपत बढ्न थालेको छ । बिलेट आयात गर्नुभन्दा कच्चा पदार्थ ‘स्पञ्च आइरन’ ल्याएर स्वदेशमै बिलेट बनाउन थालेसँग विद्युत् खपत समेत बढेको हो ।

 

स्टील उद्योगमा मात्रै हाल करिब १३० देखि १५० मेघावाटसम्म विद्युत् खपत भइरहेको विद्युत् प्राधिकरणको भनाइ छ । प्राधिकरणले संञ्चालन अघि नै माग अनुसार उद्योगहरुमा ४०० मेघावाट विद्युत् क्षमताको लोड थपिसकेको नेपाल विद्युत् प्राधिकरणका उपमहानिर्देशक मनोज सिलवाल बताउँछन् ।

 

‘सरकारको उक्त नीतिले विद्युत् खपतमा सहज हुने देखिएको छ,’ उनले भने, ‘तत्काल संञ्चालनमा नआएका उद्योगहरुमा पनि व्यवसायीहरुले लोड थप्न माग गरिरहेका छन, हामीले सबै उद्योगहरुमा गरेर चारसय मेघावाट लोड थपिसकेका छौँ ।’

 

सरकारी नीति अनुसार उद्योगहरु स्थापित हुन समय लागे पनि विद्युत् खपतमा भने सहज हुने उनले बताए । यद्यपि, पछिल्लो केही साता यता प्राधिकरण भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा निकेर उद्योगलाई दिन नसक्ने भन्दै उद्योगहरुमा बिजुली कटौती गरेको छ ।

 

नेपालमै बिलेट उत्पादन गर्ने उद्योग १० पुगे

 

सरकारले नेपालमै बिलेट उत्पादन गर्न प्रोत्साहन गर्ने नीति लिएसँगै बिलेट उत्पादन गर्ने उद्योगको संख्यामा समेत वृद्धि भएको छ । गत साउनसम्म स्पञ्ज आइरन आयात गरी नेपालमै बिलेट उत्पादन गर्ने उद्योगको संख्या ६ वटा रहेकोमा अहिले १० वटा पुगेका छन् ।

 

चालु आवको फागुनसम्म ४ वटा बिलेट उत्पादन गर्ने उद्योग थपिएका हुन् । हाल ३० बढी स्टील उद्योग संचालनमा छन् ।

 

हाल नेपालमा भएका मध्ये सर्वोत्तम स्टील,पशुपति आइरन,लक्ष्मी स्टील, जगदम्बा स्टील,अम्बे स्टील, अशोक स्टील,नारायण स्टील, हाइटेक स्टील, हुलास इन्फ्रा डण्डी उद्योग लगायतले कच्चा पदार्थ ल्याएर स्वदेशमै बिलेट उत्पादन गर्छन् ।

 

सरकारले स्वदेशमै बिलेट उत्पादन गर्ने नीति लिए यता स्टील उद्योगमा झन्डै ३ अर्ब बढी लगानी थपिएको छ । दुई वटा नयाँ स्टील उद्योग थपिएका छन् भने अन्य उद्योगले क्षमता अभिवृद्धिमा लगानी थपेका हुन् ।

 

आपूर्तिमा तत्काल प्रभाव नपारे पनि खपतमा सहज

 

हिउँदमा पानिको बहाव कम हुने भएकाले विद्युत् उत्पादन घट्ने गरेको छ । त्यसकारण प्राधिकरणले यस अवधिमा विद्युत्को माग आपूर्तिका लागि भारतबाट बिजुली आयात गर्ने गरेको छ ।

 

वर्षायाममा विद्युत् पूर्ण क्षमतामा उत्पादन हुने र खपत नहुँदा खेर जाने अवस्था आउने गरेको छ । यस वर्ष पनि १५० देखि ३ सय मेघावाटसम्म विद्युत् वर्षा याममा माग भन्दा बढी उत्पादन हुने विद्युत् प्राधिकरणको आकलन छ ।

 

भारत निर्यातमा सहज नहुँदा स्वदेशमै विद्युत् खपतको ठाउँ खोजिरहेको प्राधिकरणका लागि बिलेट स्वदेशमै उत्पादन गर्न प्रोत्साहन गर्ने सरकारी नीतिले सहज हुने अधिकारीहरु बताउँछन् ।

 

प्राधिकरणका उपमहानिर्देशक सिलवाल सरकारको नीतिले विद्युत् खपत बढाउने भएपनि अहिले नै त्यसस्तरमा सबै उद्योगहरु स्थापना भइनसकेका कारण आपूर्तिमा भने असर नपरेको बताउँछन् ।

 

‘पक्कै पनि त्यसले विद्युत् खपत ह्वात्तै बढाउने नै छ । उद्योगहरु पनि स्थापनाको तयारीमा छन् होला,’ उनले भने, ‘पहिलेको तुलनामा अहिले उद्योगहरुमा विद्युत् खपत बढेको छ । कूल मागको करिब ४० प्रतिशत खपत उद्योगमै हुन्छ ।’

 

देशभर पेट्रोलियम पदार्थ ढुवानी ठप्प, माग पूरा नभए २० गतेदेखि विक्री पनि रोक्ने Read Previous

देशभर पेट्रोलियम पदार्थ ढुवानी ठप्प, माग पूरा नभए २० गतेदेखि विक्री पनि रोक्ने

सिभिल बैंकको नगदरहित अभियान बेगनासमा, अब डुंगा चढेको क्यूआरबाट भुक्तानी Read Next

सिभिल बैंकको नगदरहित अभियान बेगनासमा, अब डुंगा चढेको क्यूआरबाट भुक्तानी