 
			काठमाडौं । विद्युत्को आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न निजी क्षेत्रले माग गरेको छ । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सैयुक्त विज्ञप्ति जारी गर्दै सरकारसँग यस्तो माग गरेका हुन् ।
विद्युत् नियमित आपूर्ति सुरु भएसँगै उत्साहित भएका उद्योगीहरू पछिल्लो समयको अनियमित विद्युत् आपूर्तिबाट चिन्तित हुन थालेको उनीहरुको भनाइ छ । अनियमित विद्युत् आपूर्तिका कारण बुटवल–भैरहवा, बारा–पर्सा, सुनसरी–मोरङ लगायतका औद्योगिक करिडोरका उद्योगहरू सञ्चालन गर्न नसक्ने समस्या सिर्जना भएको संगठनहरुले बताएका छन् ।
‘विद्युत्मा देखिएको ट्रिपिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपरझट विद्युत् आपूर्ति बन्द हुँदा करोडौं पर्ने मेसिनहरूमा क्षति पुुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हुँदा सामान डेलिभरी, बैंकको चर्को ब्याज र साँवा भुक्तानीमा समस्या पर्न गएकोतर्फ नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
उनीहरुले जुनसुकै मूल्यमा पनि विद्युत् खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनि नेपाल विद्युत् प्राधिकरणले गरेको प्रतिबद्धता स्मरण गराएका छन् ।
उनीहरुले विद्यमान समस्याको तत्काल समाधानका लागि नियमित रूपमा भारतीय बजारबाट विद्युत् खरिद गरी उद्योगहरूलाई निर्वाध उपलब्ध गराउन वा त्यो संभव नभए उद्योगहरूमा विद्युत् कटौती हुने तालिका सार्वजनिक गर्न प्राधिकरण समक्ष अनुरोध गरेका छन् ।
यसैगरी निजी क्षेत्रका ऊर्जा उत्पादकहरूसँग थप ऊर्जा उत्पादन गर्न सक्ने क्षमता भएकाले प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्नुपर्ने, आयातित विद्युत्को गुणस्तरमा ध्यान दिनुपर्नेतर्फ पहल गर्न आग्रह गरेका छन् ।
औद्योगिक क्षेत्रमा भइरहेको विद्युत्को अनियमित आपूर्तिले नेपालको औद्योगीकरणको यात्रामा गम्भीर धक्का दिएको छ । एकातर्फ प्राधिकरणले नै विद्युत् खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ विना सूचना घण्टौं विद्युत् आपूर्ति अवरुद्ध पार्नुले थप चिन्ता बढाएको छ । यस अवस्थाको अन्त्य गरी औद्योगिक वातावरण निर्माणतर्फ ध्यान दिन सरोकारवालाहरूमा आग्रह गरेका छन् । नेपाल सरकारको पूर्ण स्वामित्वको सार्वजनिक संस्थानले नाफा/घाटा नहेरी औद्योगीकरणको वातावरण निर्माणमा ध्यान दिँदा समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने हाम्रो बुझाइ छ ।
‘नेपालको विशिष्टिकृत उत्पादन व्यवस्थापनको यो अवस्था आफै“मा सोचनीय छ । विद्युत् उत्पादन वृद्धि गरी उद्योगहरूलाई सस्तो दरमा विद्युत् उपलब्ध गराउने र समग्र औद्योगिक उत्पादनको लागत न्यूनीकरणमा ध्यान दिनुपर्ने बेलामा उद्योगहरूलाई विद्युत्को मूल्यवृद्धिको प्रस्ताव गरिनु दूर्भाग्यपूर्ण छ । तुलनात्मक लाभको वस्तु सहजरूपमा उपलब्ध गराइ नेपालको औद्योगिक विकासमा सहयोग पुर्याउन सम्बद्ध सबै पक्षसँग आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
।
उत्पादन लागत निरन्तर बढीरहेको अहिलेको अवस्थामा पुन चर्को लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको शोधनान्तर घाटालाई थप फराकिलो बनाउने उनीहरुको चिन्ता छ । अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण आधारको रूपमा रहेको विद्युत्को नियमित आपूर्ति हुन नसक्ने हो भने सरकारको आर्थिक वृद्धिको लक्ष्यमा पनि गम्भीर असर पुग्ने हाम्रो निश्कर्ष छ ।
साथै उच्च लागतमा वस्तु उत्पादन गर्दा त्यसले प्रतिस्पर्धी क्षमता गुमाउँदा समग्र निर्यात प्रभवित हुनेछ । उच्च लागतको वस्तु आपूर्ति गर्दा बजारमा सिर्जना हुने मूल्यवृद्धिले समग्र जनजीवन प्रभावित हुनेतर्फ बेलैमा ध्यान दिन आग्रह गरेका छन् ।
बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव र चर्को ब्याजबाट थलिएका उद्योग व्यवसायलाई अघोषित लोडसेडिङको अर्को समस्याले थप संकटतर्फ धकेलेको छ । यो समस्या तत्काल समाधान नभएमा नेपालमा औद्योगिक वातावरणमा थप नकारात्मक सन्देश प्रवाह हुनेछ । जसले स्वदेशी तथा विदेशी लगानीकर्तालाई समेत निरुत्साहित गर्नेछ ।
छाता संगठनले उद्योगहरू बन्द हुने र बजारमा वस्तु आपूर्ति अवरुद्ध हुने परिस्थिति सिर्जना हुँदा त्यसले नेपाल सरकारले लिएको राजस्वको लक्ष्यमा समेत गम्भीर असर पर्नेतर्फ सम्बन्धित सबै सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                