काठमाडौं । चाबहिल–साँखु सडक खण्ड विस्तारको काम सुरु भएको ७ वर्ष बित्न लागे पनि अझै सम्पन्न हुन सकेको छैन । ठेकेदारको चरम लापारबाही, स्थानीयको अवरोध, मुआब्जा विवाद लगायत कारणले आयोजना समयमै सम्पन्न हुन नसकेको हो ।
२०७२ असोज १३ गतेबाट निर्माण सुरु भएको यस सडकको हालसम्म करिब ९० प्रतिशत काम पूरा भएको छ भने अझै १० प्रतिशत बाँकी छ । कुल ११.६ किलोमिटर लामो यस सडकखण्डको अझै अझै डेढ किलोमिटर हाराहारी सडक निर्माण सम्पन्न हुन बाँकी रहेको छ ।
यस सडकखण्ड अन्तर्गत वाग्मती २०० मिटर, नलिङ मूलपानीमा ३०० मिटर, थलीमा ६०० मिटर, नयाँ पाटीमा २५० मिटर र सलम्बुटारमा २०० मिटर कालोपत्र गर्न बाँकी रहेको छ ।
यी स्थानहरूमा २०७६/७७ को अन्तिमसम्ममा कालोपत्र गरिसक्ने सरकारको लक्ष्य रहे पनि विभिन्न कारण बस अहिलेसम्म निर्माणाधीन अवस्थामा नै रहेको छ ।
३ ठेकेदारले अझै सकेनन् काम
यस सडक आयोजना अन्तर्गत ९० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । सो खण्डमा ४ ठेक्कामा काम भइरहेको छ । ४ वटा ठेकेदार मध्ये ३ ठेकेदारले गरिरहेको काम अझै सम्पन्न हुन सकेको छैन् ।
बज्रगुरु/च्याङमिला/खानी जेभीले २.४०० किलोमिटर सडक विस्तारको ठेक्का पाएको थियो । यस कम्पनीले बौद्ध–नारायणटारसम्मको सडक निर्माण गर्न २३ करोड ८ लाख ९८ हजार रुपैयाँ निर्माण ठेक्का पाएको थियो । यस खण्डको वाग्मतीमा २०० मिटरमा मर्मत सम्भार तथा फुटपाथ निर्माणको काम बाँकी रहेको हो ।
यस्तै, बज्रगुरु/विरुवा/खानी जेभी ले ३ किलोमिटर सडक विस्तारको जिम्मा लिएकोमा यस आयोजनामा ग्रेडिङको काम भइरहेको आयोजनाले जनाएको छ । दक्षिणढोकादेखि थलीसम्मको यस खण्ड विस्तारका लागि २६ करोड ३३ लाख ९४ हजार रुपैयाँ कुल लागत छुट्याइएको थियो ।
यस आयोजनाले चाँडै कालोपत्र सक्ने उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । आयोजना अन्तर्गत नलिङ मूलपानीमा ३०० मिटर र थलीमा ६०० मिटर निर्माण सम्पन्न गर्न बाँकी रहेको हो ।
बीटी/सुनकोशी/वल्र्डवाईड जेभीले २.४६० किलोमिटर सडक विस्तारको आयोजना ठेक्का लिएको यस खण्डमा सबबेस हाल्ने काम सकिएको छ । अब बेस हालेर कालोपत्र गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । २० करोड ३२ लाख ७८ हजार रुपैयाँ लागत खर्च तोकिएको यस आयोजनामा १०/१५ दिनमा कालोपत्र सकिने उनले बताए ।
युनाइटेड बिल्डर्स एण्ड इन्जिनियरर्स प्रालिले ३.६०० किलोमिटर सडकमा विस्तारको काम सकिसकेको जनाइएको छ । सो अन्तर्गत ३१ करोड ६४ लाख २३ हजार रुपैयाँ लागत अनुमान गरिएकोमा हालसम्म ३५ करोड ३८ लाख ३९ हजार रुपैयाँ खर्च भइसकेको प्रधिकरणले जनाएको छ ।
१ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ लगानीमा बन्दै गरेको यो सडक खण्डमा हालसम्म ९७८ करोड रुपैयाँ हाराहारीमा खर्च भइसकेको छ । सरकारले विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडाईमा चार लेनको सडक बनाउने योजना ल्याएको थियो । स्थानीयहरूले सडक विस्तारका क्रममा घरहरू भत्काउन नदिएपछि यथास्थितिमा निर्माण गर्न लागिएको हो ।
ठेकेदार कम्पनीले काम सके पछि पनि त्यसको १ वर्षसम्म सडक बिग्रे, भत्केको अवस्थामा ठेक्का कम्पनी आफैले बीना भुक्तानी मर्मत गर्नुपर्नेछ ।
‘यही चैत भित्र सम्पन्न हुन्छ’
यसअघि कोभिड १९ ले असर पारेको बहानामा गति लिन नसकेको यस आयोजनाले चैतमहिना भित्र निर्माण सम्पन्न गर्ने दाबी गरेको छ । काठमाडौं सूचना अधिकारी जोशीले चाबहिल साँखु खण्डमा सब बेस हाल्ने काम सकिसकेकोले अब कालोपत्र गर्न मात्र बाँकी रहेको बताउँछन् ।
उनले चाबहिल साँखुको सडक निर्माण १०/१५ दिनमा सकिने बताए । ‘अहिले ठेकेदारले धमाधम काम गरिरहेका छन्, सब बेसको काम भइसक्यो, अब बेस राखेर पिच गर्न मात्र बाँकी हो, त्यो पनि सरासर गरे १०/१५ दिनमा सकिन्छ,’ जोशीले चाणक्य पोष्टसँग भने ।
उनले चाबहिलदेखि वाग्मती पुलसम्म केही मर्मत सम्भारको काम र फुटपाथको काम बाँकी रहेको जानकारी दिए । वाग्मतीदेखि थलीसम्ममा उकालोमा ग्रेडिङको काम भइरहेको उनले बताए ।
नलिङ होटलको तिवारीटोलमा केही मिटरमा कालोपत्रे गर्न बाँकी रहेको छ । थलीदेखि ब्रम्हखेलसम्म सब बेसको काम सम्पन्न गरी बेसको तयारी भइरहेको उनले बताए । यस्तै ब्रम्हदेलदेखि साँखुसम्म ३०० मिटरमा कालोपत्रे गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।