मादीसेती नदीमा मोटरबोट परीक्षण सफल, चढ्न कति लाग्छ शुल्क ?

तनहुँ । आठौँ तनहुँ महोत्सवको समयमा मादीसेती नदीमा सञ्चालनमा ल्याइएको मोटरबोट परीक्षण गर्दा सफल भएको छ । पानीको बहाव परीक्षण गर्दा आगामी दिनमा मोटरबोट सञ्चालन गर्न मिल्ने भएको हो ।

 

मोटरबोट व्यवस्थापन समितिका संयोजक दीपक राईले सेतीमादी दोभानदेखि बुल्दीको दोभानसम्म मोटरबोटको परीक्षण गर्दा सफल भएको जानकारी दिए । डोजर लगाएर उक्त भागमा नदीमा रहेका ढुङ्गाहरु हटाइएपछि मोटरबोट सञ्चालन गर्न सकिएको हो ।

 

मादी र सेती नदीमा पहिलो पटक मोटरबोट चढन पाउँदा तनहुँवासीहरु हौसिएका छन् । मादी र सेतीमा पहिलो पटक मोटरबोट चढ्न पाउँदा निकै आनन्दको अनुभूति भएको सञ्चारकर्मी विष्णु गौतमले बताए।

 

मादी र सेतीमा समेत मोटरबोट सञ्चालन गर्न सकिने सम्भावना रहेछ । उनले भने, ‘महोत्सवले निरन्तर सञ्चालनका लागि ढोका खोलिदिएको छ ।’

 

मोटरबोटको सफल आरोहण भएसँगै उक्त नदीमा निरन्तर रुपमा सञ्चालनमा ल्याइने तयारी गरिएको छ । आठौँ तनहुँ महोत्सवमा मोटरबोटको आकर्षण बढेको महोत्सवका संयोजक पवीन्द्रकुमार श्रेष्ठले बताए ।

 

व्यास नगरपालिकासँग समन्वय गरी मोटरबोट सञ्चालनमा ल्याउने तयारी भइरहेको नारायणगढबाट मोटरबोट ल्याएका लेखनाथ पौडेलले जानकारी दिए। ‘नारायणी नदीमा जस्तै गरी मादी र सेतीमा पनि मोटरबोट सञ्चालन गर्ने तयारीमा हामी छौँ,’ उनले भने । छिट्टै सम्बन्धित निकायहरुबाट स्वीकृत लिएर मोटरबोट सञ्चालन गराइने योजना रहेको बताइएको छ ।

 

महोत्सवका बेला मोटरबोट चढ्नका लागि प्रतिव्यक्ति २५० रुपैयाँ लिइँदै आएकामा घटाएर १५० रुपैयाँ झारिएको छ । दर्शकको मागलाई ध्यानमा राखी मोटरबोटको शुल्क घटाइएको तनहुँ उद्योग वाणिय सङ्घका महासचिव सुवोध अधिकारीले बताए।रासस

७ वर्षमा पनि बनेन् चाबहिल-साँखु सडक, ३ खण्डको काम अझै बाँकी Read Previous

७ वर्षमा पनि बनेन् चाबहिल-साँखु सडक, ३ खण्डको काम अझै बाँकी

पोखरा महानगरले तोक्यो ९ तालको मापदण्ड Read Next

पोखरा महानगरले तोक्यो ९ तालको मापदण्ड