काठमाडौं । विश्वबजारमा तेलको मूल्य अकासिँदा भारतीय नीतिनिर्माताहरू चिन्तित देखिएका छन् । पश्चिमा राष्ट्रहरूले प्रतिबन्ध कडा पार्दै लगेको बेला रुसले तेल निर्यात गर्न नयाँ बजार खोजिरहेको छ। अनि भारतले रुसबाट आयातको परिमाण बढाउन मूल्यमा छुट दिइएको मौकाको फाइदा उठाइरहेको छ।
संयुक्त राज्य अमेरिकाका अनुसार त्यस किसिमको आयातले प्रतिबन्ध उल्लङ्घन नभए पनि ‘रुसलाई सहयोग…विनाशकारी प्रभाव पार्ने अतिक्रमणलाई सहयोग हो’ भनेको छ।
भारतमा कहाँबाट आउँछ तेल ?
अमेरिका र चीनपछि भारतमा अत्यधिक तेल इन्धन खपत हुन्छ। भारतमा खपत हुनेमध्ये ८० प्रतिशत तेल आयातित हो।सन् २०२१ मा भारतले रुसबाट १.२ करोड ब्यारल तेल किनेको थियो। अर्थात् आफ्नो कुल आयातको केवल २ प्रतिशत हो ।
गत वर्ष भारतले मध्यपूर्वबाट अत्यधिक मात्रामा तथा संयुक्त राष्ट्र अमेरिका र नाइजिरियाबाट उल्लेख्य परिमाणमा तेल आयात गरेको स्पष्ट छ।
जनअरी र फेब्रुअरीमा भारतले रुसबाट तेल आयात गरेन। यद्यपि उपभोग्य सामग्रीबारे अनुसन्धान गर्ने समूह केप्लरका अनुसार मार्च र एप्रिल महिनाका लागि ६० लाख ब्यारलसम्मको सम्झौता भइसकेको छ।

भारत सरकारका अनुसार रुसबाट अझ बढी तेल किनिए पनि विश्वभरिबाट आयात गर्ने इन्धनको तुलनामा त्यो ‘ठूलो भाँडोमा एउटा थोपा’ मात्र हुनेछ।
भारतले कति मूल्यमा तेल पाएको छ ?
युक्रेनमा रुसले आक्रमण गरेपछि रुसको युरल्स कच्चा तेल किन्ने देश थोरै छन् र त्यसको मूल्य पनि घटेको छ। ‘हामीलाई भारतले ठ्याक्क तिरिरहेको मूल्य थाहा नभए पनि गत साता ब्रेन्ट क्रूड ‘वैश्विक मानके को तुलनामा युरलमा पाएको छुट प्रतिब्यारल झन्डै ३० डलरले बढेको छ,’ केप्लरसँग आबद्ध विश्लेषक म्याट स्मिथ भन्छन्।
यी दुई किसिमका कच्चा तेल प्रायः उस्तै मूल्यमा विक्री हुन्थे। उनका अनुसार यद्यपि मार्चमा एक पटक युरलको मूल्य निरन्तर घटिरहेको बेलामा ती दुईको मूल्यमा रहेको अन्तर अहिलेसम्मकै सबैभन्दा बढी हुन पुगेको थियो। ‘तसर्थ भारत र चीनले ठूलो छुटमा केही ‘रुसी कच्चा तेल किन्ने सम्भावना छ,’ उनी भन्छन्। भारतमा खपत हुनेमध्ये ८० प्रतिशत तेल विदेशबाट आउँछ
आर्थिक प्रतिबन्धको प्रभाव कस्तो ?
रुसी बैंकहरूमाथि प्रतिबन्ध लागेकाले भारतका ठूला तेल प्रशोधन कम्पनीहरूले छुटमा पाएको तेल किन्न चुनौती बेहोरिरहेका छन्। यो समस्या दुवैतिरबाट भोग्नुपरेको छ।
आर्थिक विषयबारे विश्लेषण गर्ने संस्था ब्लूमबर्गका अनुसार रुसमा सामान पठाउने भारतीय निर्यातकर्ताहरूले झन्डै ५० करोड डलरजतिको भुक्तानी कुरिरहेका छन्। भारतले स्थानीय मुद्रामा आधारित कारोबार प्रणालीलाई एउटा विकल्प बनाउन सकिन्छ कि भनेर सोचिरहेको छ। उक्त प्रणालीमा भारतीय निर्यातकर्ताले डलर वा यूरोको साटो रूबलमा भुक्तानी पाउँछन्।
भारतले अन्यत्र कहाँबाट तेल किन्न खोजेको छ ?
रेफिनिटिभसँग आबद्ध विश्लेषकहरूका अनुसार फेब्रुअरी महिनादेखि भारतमा अमेरिकाबाट हुने तेल आयात धेरै बढेको छ। तर बजार विश्लेषकहरूका अनुसार रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाले रुसबाट आपूर्ति हुने तेलको साटो स्वदेशमै उत्पादित तेल प्रयोग गर्न सक्ने भएकाले दीर्घकालीन रूपमा अमेरिकाबाट तेल आयात गर्न सम्भव नहुन सक्छ।
साटफेर प्रणालीअन्तर्गत इरानसँग व्यापार फेरि सुरु हुन सक्नेबारे पनि चर्चा भएको पाइन्छ। त्यसो भयो भने भारतीय प्रशोधनकर्ताहरूले इरानसँग तेल किन्न सक्छन्।
तीन वर्षअघि अमेरिकाले इरानमाथि फेरि प्रतिबन्ध लगाएपछि उक्त व्यवस्था रोकिएको थियो। तर,अन्तर्राष्ट्रिय वार्तामा इरानको पारमाणविक कार्यक्रमबारे एउटा बृहत्तर सहमति नभएसम्म त्यसो हुने सम्भावना छैन।-बीबीसी