कोइलाको मूल्य दोब्बरले वृद्धि, नेपाली उद्योग दोहोरो मारमा

काठमाडौं । पछिल्लो तीन महिनाको अवधिमै अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य दोब्बरले वृद्धि भएको छ । सन् २०२२ को सुरुआति देखि नै उकालो लागेको काइलाको मूल्य रुस युक्रेन युद्धका कारण अझैैै आकाशिएको हो ।

 

विश्वभर बढीरहेको ऊर्जा संकटका कारण कोइलाको माग अधिक हुँदा मूल्य पनि अस्वभाविक रुपमा बढेको हो । सन् २०२१ डिसेम्बरमा प्रतिटन १५० डलर हाराहारीमा रहेको कोइलाको मूल्य अहिले प्रतिटन २७० डलर पुगेको छ । तीन महिनाको अवधिमै यसको मूल्य दोब्बले बढेको हो । रुस युक्रेन युद्ध सुरु भएको बेला प्रतिटन ३०० डलर नाघेको थियो ।

 

रुसले युक्रेन माथि हमला सुरु गरेरसँगै अमेरिका र पश्चिमा देशहरुले रुसमाथि आर्थिक प्रतिबन्ध लगाए । जसले अन्तर्राष्ट्रिय बजारमा रुसबाट नियार्त हुने कच्चा तेल, ग्यास लगायत पेटोलियम पदार्थको आपूर्ति ठप्प भयो । रुसको तेल र ग्यास आपूर्ति बन्द भएसँगै सम्पूर्ण इन्धनको मूल्य अस्वभाविक रुपमा बढेको हो ।

 

विश्वका अधिकांश देशमा औद्योगिक क्षेत्रमा कोइलाको अधिक प्रयोग हुन्छ । युरोपेली, भारत लागायत देशमा कोइलाबाटै विद्युत् उत्पादन गरिन्छ । औद्योगिक क्षेत्र र विद्युत् उत्पादनमा विश्वभर कोइलाको प्रयोग हुने हुँदा यसको माग बढेको छ ।

 

कोप २६ सम्मेलनमा जलवायु परिवर्तनको मुख्य कारक मध्येको एक कोइलाको प्रयोग रोक्न विश्वका १९० देशले प्रतिबद्धता जनाए पनि भारत, चीन जस्ता ठूला प्रयोगकर्ताले यसको प्रयोग घटाउने घोषणा गरेका छैनन् । यद्यपि, केही देशहरुले भने उत्पादन कटौती गर्दै लगेका छन् ।

 

पछिल्लो समय इन्धनको मुख्य स्रोत रहेको कोइलाको उत्पादनमा केही कमी आउँदा र विद्युत्को माग बढ्दा अन्तर्राष्ट्रिय बजारको यसको माग र मूल्य बढ्दो क्रममा रहेको हो ।

 

नेपाली उद्योग दोहोरो मारमा

 

विश्व बजारमा भएको कोइलाको मूल्य वृद्धिले नेपाली उद्योग संकटमा परेका छन् । पर्याप्त विद्युत् नपाउँदा नेपाली उद्योगहरु पनि कोइलामै निर्भर रहेकाले मूल्य बढ्दा संकटमा परेका हुन् ।

 

कोइलाको मूल्य बढ्दा मुख्यगरी इँटा, सिमेन्ट, डण्डी लगायत उद्योगहरु बढी प्रभावित भएका छन् । इन्धनको मूल्य वृद्धि हुँदा कच्चा पदार्थको समेत भाउ बढेपछि उद्योगीहरु दोहोरा मारमा परेका हुन् । साथै, पछिल्लो समय हुन थालेको अघोषित १२ घण्टे लोडसेडिङले औद्योगिक वातावरण नै खल्बल्याएको उद्योगीहरु बताउँछन् ।

 

एकातिर पाइरहेकै विद्युत् समेत कटौती भएको छ भने अर्कोतर्फ कोइलाको मूल्य दोब्बरले बढ्दा उद्योग संचालन गर्न नसक्ने अवस्थामा पुगेको उद्योगीहरु बताउँछन् ।

 

कोइलाको अचाक्ली मूल्य बढ्दा उद्योग नै चलाउन नसक्ने अवस्थामा पुगेको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकार बताउँछन् ।

 

‘केही महिना अघिसम्म प्रतिटन कोइला २०/२१ हजार रुपैयाँमा ल्याउँथ्यौं । अहिले दोब्बरले बढेर ४० हजार रुपैयाँ नाघेको छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘लागत दोब्बरले बढे पनि इँटाको भाउ उही पुरानै छ । घाटामा उद्योग कसरी चल्छ । अब व्यवसायीले उद्योग नै चलाउन सक्ने अवस्था छैन ।’

 

कोरोनका कारण झन्डै आधा इँटा उद्योग बन्द भएका थिए । बाँकी संचालनमा रहेका उद्योग पनि कोइलाको अचाक्ली मूल्य वृद्धिले संकटमा परेको उनको भनाइ छ ।

 

कोइलाको मूल्य बढ्दा उद्योगहरुले इँटा उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आउने चित्रकार बताउँछन् । कोइलाको मूल्य बढे पनि अहिले बजारमा इँटाको मूल्य नबढेको र अभाव पनि नभएको उनको भनाइ छ ।

 

रुस युक्रेन युद्ध रोकिए कोइलाको मूल्य केही घट्ने उनको अपेक्षा छ । हाल नेपाली इँटा उद्योगमा अमेरिकन र इन्डोनेसियन कोइला प्रयोग हुँदै आएको महासंघले जानकारी दिएको छ । हाल देशभरका करिब ६०० इँटा उद्योग संचालनमा रहेका छन् ।

 

यता, सिमेन्ट उद्योग संघको भनाइ पनि उस्तै छ । दुई देश बीच भएको युद्धको कारण हरेक निर्माण सामग्रीको मूल्य वृद्धि भएको छ । साथै, कोइलाको मूल्य दोब्बरले बढ्दा सिमेन्ट उत्पादन नै प्रभावित भएको नेपाल सिमेन्ट उद्योग संघले जनाएको छ ।

 

‘पछिल्लो समय सबै प्रकारका निर्माण सामग्रीको मूल्य वृद्धि भएको छ, त्यसमा पनि कोइलाको मूल्य दोब्बरभन्दा धेरै बढेको छ,’ संघका अध्यक्ष ध्रुवराज थापाले चाणक्य पोष्टसँग भने, ‘यता पाइरहेको बिजुली पनि पाउन छाडेका छौं । १२ घण्टासम्म बिजुली जान थालेको छ । उता कोइलाको मूल्य पनि छोइनसक्नु भएको छ । अब कसरी उद्योग संचालन गर्ने ?’

 

कोइलाको मूल्य बढेर मारमा परेका व्यवसायीलाई नेपाल विद्युत् प्राधिकरणले बिजुली नदिएर झन संकटमा पारेको उनको भनाइ छ । सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादनका लागि १८ देखि २० प्रतिशत कोइला प्रयोग हुने बताइएको छ ।

 

दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको अनुमति, नेपाल र भारतको संयुक्त लगानी Read Previous

दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको अनुमति, नेपाल र भारतको संयुक्त लगानी

३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Next

३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?