दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणको अनुमति, नेपाल र भारतको संयुक्त लगानी

काठमाडौं । सरकारले नेपाल भारतबीच निर्माण हुने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । कुल ४०० केभी क्षमताको डबल सर्किट अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्राधिकरणका लागि अनुमति दिइएको हो ।

 

न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फ कुल २० किलोमिटर र भारततर्फ कुल १२० किलोमिटर गरी १४० किलोमिटर लामो रहको छ ।

 

नेपालबाट विद्युत् भारत निर्यातका लागि महत्वपूर्ण मानिएको सो प्रसारण लाइन निर्माणका लागि २०७५ असोज २७ र २८ गते भारतको बैङ्गलोरमा सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले आवश्यक निर्णय गरेको थियो । सो बैठकमा नेपाल खण्डका लागि आवश्यक लगानी नेपाल सरकारले र भारतीय भूभागमा पर्ने संरचनाका लागि आवश्यक लगानी तथा कार्यान्वयनको हकमा समान ५०/५० प्रतिशत लगानी गर्ने सहमति भएको थियो ।

 

प्राधिकरण र भारत सरकारको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडको समान लगानीमा संयुक्त उपक्रमको कम्पनी स्थापना गर्ने तथा सो कम्पनी र प्राधिकरणबीच आवश्यक सम्झौता गर्ने निर्णय भएको थियो । आयोजनामा ऋण ८० प्रतिशत र स्वपूँजी अनुपात २० प्रतिशत रहने उल्लेख गरिएको थियो ।

 

यस्तै भारतीय क्षेत्रमा रहने प्रसारण लाइन २५ वर्षका लागि सम्पूर्ण क्यापासिटी बुकिङ प्राधिकरणले गर्ने उल्लेख छ । यस्तै केही समय पहिले दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले यही महिनाभित्रै संयुक्त कम्पनी स्थापना गर्ने सहमति गरेका थिए । नेपाल र भारतबीच विभिन्न ११ विन्दुबाट विद्युत् आयात तथा निर्यात हुँदै आएको भए पनि ठूलो क्षमताको प्रसारण लाइन भने एउटा मात्रै छ ।

 

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मात्रै ठूलो क्षमताको अर्थात् ४०० केभी क्षमताको हो । अन्य सबैजसो आयोजना ३३ केभीदेखि १३२ केभीसम्म छ । सरकारले सो प्रसारण लाइनलाई महत्वका साथ अगाडि बढाएको छ । वर्षाको समयमा बढी भएको बिजुली निर्यात तथा कम भएको बेला आयातका लागि ठूलो क्षमताको प्रसारण लाइन जरुरी छ ।

 

प्रसारण सञ्जालको निर्माणका लागि प्राधिकरणले महत्वका साथ गतिविधि अगाडि बढाइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार कम क्षमताका प्रसारण लाइनमा बढी मात्रामा प्राविधिक चुहावट हुने भएकाले ठूला क्षमताका प्रसारण लाइन आवश्यक छ ।

 

सरकारको पछिल्लो निर्णयअनुसार अब प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडले एक आपसमा मिलेर संयुक्त कम्पनी स्थापना गर्नेछन् । सो कम्पनी स्थापना भए पनि दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्मााणको काम अगाडि बढ्नेछ ।

 

न्यू बुटवल अन्तरदेशीय प्रसारण लाइन नाम दिइएको सो आयोजनामा काठमाडौँ, नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै जाने ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनसमेत जोडिनेछ । सो प्रसारण लाइन अमेरिकी सहयोग परियोजना एमसिसीले अगाडि बढाउँदैछ । न्यू बुटवल सबस्टेशन समेत ४०० केभी क्षमतामा निर्माण हुनेछ । सो सबस्टेशनलाई नेपालको प्रसारण गुरुयोजनाअनुसार हब सबस्टेशनको नाम दिइएको छ ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार नेपाल भारत सीमादेखि भारतको गोरखपुरसम्मको प्रसारण लाइन निर्माणका लागि प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडको संयुक्त स्वामित्व रहने गरी भारतमा कम्पनी स्थापना गर्न तथा आयोजना निर्माणमा ५० प्रतिशत सेयर पूँजी रहने गरी बढीमा १अर्बसम्मको स्वीकृति दिइएको छ ।

 

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा २ बमोजिम प्राधिकरणलाई स्वीकृति दिने निर्णय भएको ऊर्जा सचिव देवेन्द्र कार्कीले जानकारी दिएका छन् । यसबाट नेपाल र भारतका बीचमा ऊर्जा आदानप्रदानका लागि महत्वपूर्ण योगदान पुग्नेछ ।

उपकार लघुवित्तले चैत २५ देखि आइपीओ निष्काशन गर्ने Read Previous

उपकार लघुवित्तले चैत २५ देखि आइपीओ निष्काशन गर्ने

कोइलाको मूल्य दोब्बरले वृद्धि, नेपाली उद्योग दोहोरो मारमा Read Next

कोइलाको मूल्य दोब्बरले वृद्धि, नेपाली उद्योग दोहोरो मारमा