काठमाडौं । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।
लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा यस आयोजनाबाट आगामी वैशाख अन्तिमबाट विद्युत् उत्पादन गर्ने तयारीका साथ अघि बढेको हो ।
आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले अब २ प्रतिशत मात्र काम बाँकी रहेको बताए । उनले भने, ‘दुई वर्ष अघि नै आयोजनाको निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको थियो, तर नाकाबन्दी, दोर्दीखोलामा आएको बाढीले आयोजनामा पुर्याएको क्षति लगायतका कारणले बल्ल आगामी वैशाखमा बिजुली उत्पादन थाल्ने भएका छौँ ।’
हाल बाढीले क्षति बनाएको ठाउँमा मर्मत कार्य भइरहेको छ । त्यस्तै टनेल, पाइप, पावरको परीक्षणका लागि तयारी भइरहेको आयोजनाले जनाएको छ । आयोजनाका प्रवद्र्धक वस्तीले भने, ‘आयोजनाको यही चैत अन्तिमबाट परीक्षण थाल्नेछौँ ।’
यस आयोजना विसं २०७१ बाट निर्माण थालनी गर्दै विसं २०७४ मा निर्माण सम्पन्न गर्ने सम्झौताका साथ अघि बढे पनि हालसम्म पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।
आयोजना निर्माणका क्रममा ३ अर्ब ९६ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो तर निर्माण अवधि लम्बिँदै जाँदा ४ अर्ब ६४ करोड खर्च हुने अनुमान रहेको आयोजनाले जनाएको छ ।
आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।
आयोजनाको बाँधस्थल लोदो खोलाबाट २ हजार ७०० मिटर लामो भूमिगत सुरुङ र २ हजार ८०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युत्गृहमा झारिने आयोजना प्रवद्र्धक वस्तीले बताए ।