उपत्यकाको ४४ हजार रोपनी जग्गा कित्ताकाट खुलाइँदै, यी ठाउँको जग्गा हुँदैछ फुकुवा

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँकोे जग्गाको कित्ताकाट फुकुवा गर्ने तयारी गरिएको छ । सहरी विकास मन्त्रालयले काठमाडौं र भक्तपुरको आधादर्जन नगरपालिका क्षेत्र भित्र पर्ने ४४ हजार रोपनी जग्गाको कित्ताकाट फुकुवा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको हो ।

 

मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणले विकास गर्ने ‘पूर्वी काठमाडौं नयाँ सहर’  क्षेत्रको जग्गाको कित्ताकाट फुकुवा गर्ने प्रस्ताव मन्त्रिपरिषद् लैजान लागिएको हो ।

 

प्राधिकरणले उपत्यकाका ४ वटा स्मार्ट सिटी निर्माणका लागि तीनै जिल्लाका विभिन्न स्थानमा नयाँ नगर विकास योजना लागू गर्दै जग्गाको कित्ताकाट रोक्का गरेको छ । ४ वटा स्मार्ट सिटीमध्ये इसान (पूर्वी) स्मार्टसिटी क्षेत्रभित्र पर्ने रोक्का गरिएको १ लाख रोपनी जग्गा मध्ये अहिले ४४ हजार रोपनी जग्गाको कित्ताकाट फुकुवाको प्रस्ताव गरिएको मन्त्रालयका अधिकारीहरू  बताउँछन् ।

 

हाल भौतिक विकास योजना तयार भई उपत्यका विकास प्राधिकरणको संचालक समितिको बैठकबाट २०७८ चैत्र ४ गते भएको निर्णयाअनुसार भौतिक विकास समितिको बैठकमा पेश गर्ने निर्णय भएको हो ।

 

सरकारले कृषि योग्य भूमि खण्डीकरण रोक्ने भन्दै २०७४ सालदेखि देशैभरि जग्गाको कित्ताकाटमा रोक्का लगाइएको थियो । कित्ताकाटमा रोक लगाइए पनि हाल एक वर्षमा एउटा जग्गा दुई टुक्रा पार्न पाउने व्यवस्था छ ।

 

यी ठाउँको जग्गा कित्ताकाट फुकुवा गर्ने तयारी

 

आयोजना अन्तर्गतका काठमाडौंको २३ हजार २०४ रोपनी वर्ग किलोमिटर र भक्तपुरको २० हजार ७९६ रोपनी जग्गा कित्ताकाट फुकुवा गर्ने प्रस्ताव गरिएको हो ।

 

काठमाडौंको कागेश्वरी, गोकणेश्वर र शंखरापुर नगरपालिकाको कित्ताकाट भएको जमिन फुकुवा गर्ने प्रस्ताव गरिएको हो । त्यसैगरी, भक्तपुरको ठिमी, चाँगुनारायण लगायतका स्थानमा समेत कित्ताकाट फुकुवा गर्ने तयारी भइरहेको छ ।

 

पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोजना भित्र समेटिएको कागेश्वरी मनोहरा नगरपालिकाको वडा १, २ , ३ र ४ को कित्ताकाट फुकुवा गर्न सिफारिस भएको हो ।

 

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १, २ र ४ तथा शंखरापुर नगरपालिका वडा नम्बर ९ को जग्गा कित्ताकाट फुकुवा गर्ने प्रश्ताव गरिएको मन्त्रालयले जनाएको छ ।

 

काठमाडौंको पूर्वतर्फ गागलफेदी, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ काँठको चक्रपथबाट मनमता खोला हुँदै जोरपाटी साँखु सडकको जग्गाको कित्ताकाट फुकुवा गर्न लागिएको हो ।

 

पश्चिमतर्फ गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ सूर्यमती खहरेहुँदै विश्व युवामहाविद्यालय, उक्तर तर्फ बाहिनी मन्दिर बागमती नदीसम्मको कित्ताकाट फुकुवार गर्न प्रस्ताव गरिएको हो ।

 

उत्तरतर्फ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ को पन्चकन्या मन्दिरबाट कोलमती खोला हुँदै प्रभात प्लटिङ्ग मुनीको खोल्सीबाट जन्तरे खोला भातगाउँ देवीस्थान हुँदै जोरपाटी सुन्दरीजल सडकदेखि मेलम्ची दोबाटो श्री ओख्रेनी माविबाट ढकाल खोलाहुँदै काँठको चक्रपथ हुँदै मनमता खोलासम्मको जग्गाको कित्ताकाट फुकुवा गर्ने तयारी भएको छ ।

 

दक्षिणतर्फ उत्तर बाहिनी मन्दिर वागमती नदीबाट कोलमतेश्वर महादेव मन्दिर हुँदै फिरफिरे डाँडाहुँदै आलापोट कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ को सिमानाबाट भद्रबास श्री थापा डाँडा मावि हुँदै महादेव खोला पुल जोरपाटी साँखु सडक हुँदै मनमता खोला पुलसम्मसम्मको जग्गाको कित्ताकाट फुकुवा गरिने प्रस्ताव गरिएको छ ।

 

त्यस्तै, भक्तपुरको ठिमी नगरपालिका र नगरपालिका क्षेत्रको जग्गाको कित्ताकाट फुकुवा गर्ने प्रस्ताव गरिएको छ ।

 

जग्गाधनीकाे ३४ प्रतिशत जग्गा कटौती हुने

 

स्मार्टसिटी क्षेत्रभित्र पर्ने जग्गाधनीकाे एकतिहाई जग्गा कटौती हुने भएको छ । प्राधिकरणले नयाँ सहर निर्माणका क्रममा जग्गाधनीको ३४.१ प्रतिशत जग्गा कटौती गर्ने भएको हो ।

 

सर्वसाधरणको जग्गाबाट कटौती गरिएको ३४.१ प्रतिशत जग्गामध्ये २०.७५ प्रतिशत जग्गामा सडक निर्माण हुनेछ भने ७.५५ प्रतिशत जग्गा प्राधिकरण आफैंले बेचेर प्लटिङ तथा पूर्वाधार निर्माण खर्च उठाउने छ । बाँकी जग्गामा अन्य पूर्वाधार बन्नेछन् ।

 

नयाँ सहरमा न्यूनतम ६ मिटर सडकदेखि हाइवेमा ५० मिटर चौडाइका सडक बनाइने छन् । नयाँ सहरमा कलेज, दमकल स्ट्याड, हेल्थपोष्ट, पार्क, पुलिस स्टेशन, स्कुल, सहरी विकासका भौतिक पूर्वाधारहरू विकास गरिने छ ।

नेप्सेमा उच्च अंकको गिरावट, यी ५ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा उच्च अंकको गिरावट, यी ५ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

लिबर्टी इनर्जीको दोर्दी ‘ए’ अन्तिम चरणमा, चैत भित्रै परीक्षण उत्पादन Read Next

लिबर्टी इनर्जीको दोर्दी ‘ए’ अन्तिम चरणमा, चैत भित्रै परीक्षण उत्पादन