महासंघ र लगानी बोर्ड बीच लगानी प्रबद्र्धनमा सहकार्य गर्ने सम्झौता

काठमाडौं । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रबद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्ड नेपाल बीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

 

अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा भएको उक्त समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारि अधिकृत सुशिल भट्टले हस्ताक्षर गरे ।

 

सहमती अनुसार अब महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सहायता कक्ष समेत स्थापना गरिने छ । सहायता कक्षको संचालनमा बोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, सीप विकास र ज्ञानको आदानप्रदानमा सहयोग गरिनेछ ।

 

समझदारी अनुसार महासंघले राष्ट्रको आवश्यकता अनुसारका लगानी परियोजनाको पहिचान, अन्तराष्ट्रिय रूपमा आफनो माध्यम मार्फत लगानीकर्ताको खोजी गर्ने कार्यमा बोर्डलाई सक्रियतापूर्वक सहयोग गर्ने छ ।

 

त्यसैगरी महासंघले स्वदेश तथा विदेशमा लगानी सम्बन्धी रोड सोका अतिरिक्त महत्वपूर्ण गतिविधिको आयोजनामा सहयोग गर्ने छ ।
त्यसैगरी लगानी प्रबद्र्धनका दिशामा सार्वजनिक निजी साझेदारीको अवधारणाभित्र रही दुवै संस्था निरन्तर सहकार्य, लगानी सम्बन्धी ज्ञान, अनुुभव एवं सूचनाको आदानप्रदान, नीतिगत सुधारमा सहकार्य गर्ने छन् भने एफडीआई तथा लगानी प्रबद्र्धनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा आयोजना हुने सभा, सम्मेलन, प्रर्दशनी, गोष्ठी, कार्यशाला, तालीम र यस्तै प्रकारका अन्य गतिविधिहरूको आयोजनामा महासंघले बोर्डलाई प्रत्यक्ष सहयोग पुर्याउने छ ।

 

महासंघको अन्तराष्ट्रिय लगानी प्रबद्र्धन समितिले लगानी प्रबद्र्धनका लागी तयार गर्ने सबै दस्तावेजहरूमा बोर्डले पनि सहयोग गर्ने छ । त्यसैगरी दुवै संस्थाले लगानी सम्बन्धी तथ्याक, प्रतिवेदन,संयुक्त रूपमा तयार पारिएका प्रतिवेदनहरू, वाह्य लगानी आकर्षणमा देखा परेका चुनौती तथा अवसरहरू र सार्वजनिक निजी साझेदारीमा लगानी सम्बन्धी नीति पैरवी लगायतमा सहयोग, सहकार्य, आदान प्रदान गर्नेछन् ।

 

महासंघले लगानीका अवसर सम्बन्धी डाइरेक्टरीको तयारीमा पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले सवै प्रकारका लगानी, परियोजना विकास लगायतमा संयुक्त रूपमा अध्ययन अनुसन्धानमा समेत सहकार्य गर्नेछन् ।

 

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथि एवं बोर्डका उपाध्यक्ष अर्थमन्त्री जनार्दन शर्माले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रबद्र्धनका लागि बोर्ड र महासंघ बीचको समझदारी एउटा अनुपम उदाहरण भएको र समझदारीमा उल्लेख गरिएका सहमतीका दफाहरूलाई दुवै संस्थाले अधिकतम सफल पार्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।

 

उनले यो सहमतीबाट सिंगो राष्ट्रनै लाभान्वित हुने पनि बताए । सरकारले आन्तरिक एवं वाह्य सवै प्रकारको लगानी आकर्षणमा विशेष जोड दिएको बताउँदै लगानी गर्न आउनेलाई हामीले प्रतिफलको पनि स्पष्ट खाका दिनुसक्नु पर्ने सुुझाव बताए ।

 

लगानीका लागि गरिएको प्रतिवद्धता अनुरुप लगानी आउन नसक्नुका पछाडि मिहिन ढंगले अध्ययन गरी प्रतिवद्धता अनुरुपको अधिकतम लगानी भित्रयाउन सरकार लागी रहेको पनि उनले बताए ।

 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बोर्ड र महासंघ बीचको समझदारी ऐतिहासिक भएको बताए । लामो गृहकार्य पश्चात सम्पन्न समझदारीपत्र हस्ताक्षर कार्यक्रम एउटा ऐतिहासिक सुरुवात भएको भन्दै सहमतीलाई सफल पार्न बोर्डले कुनै कसर बाँकी नराख्ने भन्दै महासंघबाट पनि आफूले पूर्ण सहयोग पाउने विश्वास प्रकट गरे ।

 

दुवै संस्थाको एउटै उद्देश्य मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रबद्र्धनका माध्यमबाट आम नेपालीहरूको मुहार खुशी बनाउनु नै रहेकाले यसलाई अधिकतम रूपमा सफल पार्नेमा विश्वास दिलाए ।

 

महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रबद्र्धनमा समझदारी कोशेढुंगा हुने विश्वास व्यक्त गरे । अध्यक्ष गोल्छाले समझदारीले लगानी बोर्डसंग लगानी प्रबद्र्धनमा सहकार्य गर्ने ढोका खुलेको बताए ।

 

महासंघको सचिवालयमा बोर्डको समेत संलग्नता र सहयोगमा खुल्ने सहायता कक्षले ठोस परिणाम दिने पनि उनले विश्वास प्रकट गरे । महासंघले अगाडि सारेको राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्रलाई सफल पार्न पनि आजको प्रतिबद्धताले सहयोग पुर्याउने छ, उनले भने । अध्यक्ष गोल्छाले यो सहकार्यका लागि नेपाल सरकार, लगानी बोर्डलाई धन्यवाद समेत बताए ।

 

हस्ताक्षर कार्यक्रममा लगानी बोर्डका सदस्य एवं महासंघका निवर्तमान अध्यक्ष भवानी राणा र बोर्डका सहसचिव भगवान अर्यालले बोर्ड र महासंघ बीचको समझदारीबाट मुलुकभित्र लगानी प्रबद्र्धनका लागि एउटा नयां अध्यायको सुरुवात भएको भन्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

 

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई, महासंघको अन्तराष्ट्रिय लगानी प्रबद्र्धन समितिका सभापति आनन्द वगाडिया, कार्यकारिणी समितिका सदस्यहरू, महासंघ र लगानी बोर्डका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

 

नेपाल लाइफद्धारा पाठशाला शुभारम्भ Read Previous

नेपाल लाइफद्धारा पाठशाला शुभारम्भ

लघु, घरेलु तथा साना उद्योगीका उत्पादनको प्रबद्र्धनमा सघाउँछु : राजदूत शर्मा Read Next

लघु, घरेलु तथा साना उद्योगीका उत्पादनको प्रबद्र्धनमा सघाउँछु : राजदूत शर्मा