निर्यातमा विदेशी वस्तुकै भर : पौने खर्बको कच्चा पदार्थ आयात, डेढ खर्बको निर्यात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षमा निर्यातमा नयाँ कीर्तिमान बनाएको छ । चालु आवको ८ महिना (साउन—फागुन)मा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ८२.९० प्रतिशतले बढी हो । जुन अहिलेसम्मकै धेरै हो ।

 

यस वर्ष कीर्तिमानी वस्तु निर्यात गरे पनि खुसी हुनु पर्ने अवस्था भने रहेको छैन । किनभने निर्यात भएका अधिकांश वस्तुको कच्चा पदार्थ विदेशबाटै आयात भएको छ । विदेशबाट कच्चा पदार्थ किनेर ल्याएर नेपालमा उत्पादन तथा प्रशोधन गरी त्यही वस्तु निर्यात भएको हो ।

 

नेपालमै उत्पादन भएकाभन्दा विदेशबाट कच्चा पदार्थ आयात गरी उत्पादित तथा प्रशोधित वस्तु धेरै निर्यात भएको छ । व्यापार घाटा न्यूनीकरणमा निर्यातले भूमिका खेल्ने भए पनि विदेशबाटै कच्चा पदार्थ आयात गर्दा ठूलो रकम बाहिरिने गरेको छ । निर्यातजन्य वस्तुको कच्चा पदार्थ आयात भएको रकम घटाउँदा वास्तविक नेपाली वस्तुको निर्यात भने न्यून देखिन्छ ।

 

१ खर्ब ४७ अर्बको वस्तु निर्यात हुँदा झन्डै ७५ अर्बको कच्चा पदार्थ आयात भएको छ । नेपालबाट धेरै निर्यात भएको पाम आयल, भटमासको तेल, ऊन, टेक्सटाइल लगायतको कच्चा पदार्थ विदेशबाटै आयात भएको छ ।

 

भन्सार विभागको तथ्यांक अनुसार नेपालबाट निर्यात हुने शीर्ष १० वस्तुमा प्रशोधित भटमासको तेल, प्रशोधित पाम तेल, सेन्थेटिक यार्न, ऊनी गलैंचा कार्पेट, तयारी कपडा, जुटबाट बुनिएका कपडा, प्रशोधित सूर्यमुखी तेल, फलफूलको जुस, अलैंची र जमोठ कपडा रहेका छन् । तर, बिडम्बना अलैंची बाहेक अरु सबै वस्तुको कच्चा पदार्थ विदेशबाटै आयात गरी प्रशोधन गरेर निर्यात गरिएको छ ।

 

धेरै निर्यात हुने वस्तुको कच्चा पदार्थ विदेशबाटै आयात हुने गरेको भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पूण्यविक्रम खड्का बताउँछन् । ‘पछिल्लो ८ महिनामा नेपाालले निर्यात गरेका टप टेन वस्तु मध्ये अलैंची बाहेकका सबै वस्तुको कच्चा पदार्थ आयात गरिएको र पछि निर्यात गरेको अवस्था छ,’ उनले भने, ‘ठूलो मात्रमा निर्यात भएको देखिए पनि कच्चा पदार्थ आयात गर्दा नेपाली पैसा बाहिरिन्छ । जसले व्यापार घाटा घटाउन खासै सहयोग पुर्याउँदैन । ’

 

पौने खर्बको कच्चा पदार्थ आयात, डेढ खर्बको निर्यात

 

चालु आवमा निर्यात डेढ खर्बको वस्तु निर्यात हुुँदा झन्डै ७५ अर्बको कच्चा पदार्थ आयात भएको छ । अर्थात् निर्यात भएको कुल रकमको आधा रकम कच्चा पदार्थ खरिद गर्दा बाहिरिएको छ ।

 

भन्सार विभागका अनुसार ८ महिनामा ४१ अर्ब ४० करोड रुपैयाँ बराबरको भटमासको प्रशोधित तेल निर्यात हुँदा २९ अर्ब ६६ करोड रुपैयाँको कच्चा पदार्थ आयात भएको छ । १ करोड ८४ लाख लिटर भटमासको कच्चा तेल आयात भएको छ ।

 

४१ अर्बको भटमासको तेल निर्यात भएको देखिए पनि साढे २९ अर्बको कच्चा पदार्थ आयात गरिएको छ । कच्चा पदार्थ आयातमा साढे २९ अर्ब विदेशिएको छ भने निर्यातबाट ४१ अर्ब भित्रिएको छ । कच्चा पदार्थ आयात गरिएको रकम घटाउने हो भने कुल साढे ११ अर्बको मात्र भटमासको तेल निर्यात भएको देखिन्छ ।

 

त्यसैगरी, ३४ अर्बको प्रशोधित पाम आयल निर्यात हुँदा २५ अर्ब २५ अर्ब १ करोड रुपैयाँको कच्चा पाम आय निर्यात भएको छ । सो अवधिमा १ करोड ८३ लाख लिटर कच्चा तेल आयात भएको छ ।

 

त्यसैगरी, ५ अर्ब १ करोड मूल्य बराबर ऊनजन्य कपडा निर्यात हुँदा १ अर्ब बढीको कच्चा पदार्थ आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

 

त्यस्तै, ५ अर्ब ९१ करोड मूल्य बराबरको २ लाख ९२ हजार ७९६ स्वायर मिटर ऊनी गलैंचा कार्पेट निर्यात हुँदा ४० करोड बढीकोे २ लाख २३ हजार ७६८ स्वायर मिटर ऊनी गलैंचा कार्पेटको कच्चा पदार्थ आयात भएको छ ।

 

त्यसैगरी, ३ अर्ब ७६ करोडको सूर्यमूखी तेलको कच्चा पदार्थ आयात हुँदा ३ अर्ब ६१ करोडको १ करोड ८१ लाख ४ हजार ३९८ लिटर सूर्यमुखी तेल निर्यात भएको छ ।

 

त्यसैगरी, १७ करोड ८५ लाख २८ हजार मूल्य बराबरको १६ लाख ६९ हजार ४१३ लिटर विभिन्न प्रकारका जुस आयात गरेर नेपालले ३ अर्ब ३९ करोड मूल्य बराबरमा निर्यात गरेको छ ।

 

अलैैंची ,त्यसैगरी नेपालले आफ्नो आन्तरीक उत्पादनबाट उत्पादन गरेरकपठाएको एक मात्र वस्तु अलैंैची रहेको छ । विभागका अनुसार पछिल्लो आठ महिनामा नेपालले ३ अर्ब २५ करोड मूल्य बराबरको ३६ लाख ४१ हजार २३ किलो अलैंची निर्यात गरेकोे छ । त्यस्तै, २ अर्ब ७४ करोड मूल्य बराबरको १४ लाख ८५ हजार ६५२ किलो जमोठ कपडा निर्यात गरेको छ ।

 

नेपाली वस्तुको निर्यात यसरी बढाउन सकिन्छ

 

नेपालले कम मूल्यको वस्तु निर्यात गर्नु नै प्रमुख समस्या रहेको छ । नेपालबाट अँलैची, अदुवा, चिया, कफी जस्ता कृषि उत्पादनहरु निर्यात हुन्छन् । पछिल्लो समय घट्दो रहेको छ । यी वस्तुहरुको उत्पादनको गुणस्तर वृद्धि गरी उत्पादकत्व बढाएर अन्तर्राष्ट्रिय स्तरमै ब्राण्डिङ गरेर निर्यात गर्न सके मात्र यसले निर्यातको मूल्य र आकार बढाउन सक्छ ।

 

आयातित कच्चा पदार्थमा आधारित भएर उत्पादन गरी फेरि निर्यात गर्ने उद्योगको विकास गर्नुभन्दा पनि यहीँ त्यस्ता कच्चा पदार्थको खोजी गरी निजी, सरकारी तथा वैदेशिक लगानीमा निर्यात उद्योगको विकास गर्नुपर्छ ।

 

अर्कातर्फ निर्यातजन्य उद्योगहरुलाई दिइँदै आएको सहुलियतलाई कायम राखी थप कर छुट, बिजुलीको प्रतियुनिट प्रयोगमा अनुदान र उद्योग सम्म सडक पँहुच जस्ता व्यवस्था राज्यले गरिदिएमा पनि नेपालबाट निर्यातजन्य उद्योगको विकास हुन सक्छ ।

 

कतिपय उद्योगहरुमा सरकारले दिएको अनुदान लिनलाई पनि विदेशबाट त्यस्ता वस्तु आयात गर्ने अनि नेपाली भनी निर्यात गर्ने गलत संस्कार पनि विकास भएको पाइन्छ । यस्ता छिद्रहरु पनि चिर्नुपर्छ ।

 

सरकारले आफ्ना नीतिमा स्वदेशी कच्चा पदार्थबाट उत्पादन र निर्यात गर्ने, रोजगारी सृजना गर्ने उद्योगहरुलाई विशेष सहुलियत दिनु पर्छ । र अन्तर्राष्ट्रिय बजारमा आफ्नो मुलुकको उत्पादनको बजारिकरणमा राष्ट्रिय स्तरबाटै पहल गरे मात्र हामीले सोचे अनुरुप नेपाली वस्तु निर्यात गर्न सम्भव छ ।

 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण, अझै ७ प्रतिशत काम बाँकी Read Previous

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण, अझै ७ प्रतिशत काम बाँकी

आइएमई जनरलको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Next

आइएमई जनरलको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?