काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २२ देखि विक्रीम ल्याएको चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १०ः४ अनुपात हकप्रद भर्ने आज अन्तिम दिन हो ।
इन्स्योरेन्सले प्रतिकित्ता १०० अंकित मूल्यमा ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद विक्रीमा ल्याएको हो ।
इन्स्योरेन्सको हकप्रदमा चैत १३ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, आइएमई जनरल इन्स्योरेन्सका रजिष्टर्ड तथा शाखा कार्यालय, सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले हकप्रद निष्काशनका लागि फागुन १ गते बुकक्लोज गरेको थियो । यसअनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सको हकप्रद सेयरको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । इन्स्योरेन्सको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।
हाल १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको हकप्रदपछि १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० रुपैयाँ पुग्नेछ ।