प्रतियुनिट ३८ रुपैयाँमा बिजुली आयात गर्दै प्राधिकरण, मासिक ८ अर्ब घाटा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा इन्धन संकटको प्रभावले नेपालमा समेत विद्युत् आयात प्रभावित भएको छ । भारतमा इन्धनको मूल्य आकाशिँदा नेपाल विद्युत् प्राधिकरणले भारतबाट महँगोमा आयात गर्नुपर्ने भएको हो ।

 

भारतमा बिजुलीको मूल्य वृद्धि भएपछि प्राधिकरणले केही दिनदेखि उद्योगहरुको विद्युत्मा कटौती गरिएको थियो । तर, प्राधिकरणले बिहीबार रातिदेखि फेरि प्रतियुनिट ३८ रुपैयाँमा बिजुली आयात थालेको हो ।

 

प्राधिकरणले लामो समयदेखि भारतको इनर्जि मार्केटबाट दैनिक बेसमा साढे ४ सय मेघावाटसम्म बिजुली आयात गर्दै आएको थियो । ‘भारतीय इनर्जी एक्सचेन्जमा मूल्यमा ठूलो परिवर्तन भयो । बिहीबारदेखि २० रुपैयाँ भारु अर्थात् नेपाली ३८ रुपैयाँमा बिजुली आयात गरेको छौंँ,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने ।

 

बिहीबार ७ हजार मेघावाट आवर आयातको लागि बिड गरेको उनले बताए । हाल भारतीय बजारमा प्रतियुनिट २० रुपैयाँसम्म विद्युत्को मूल्य पुगेको छ ।

 

विद्युत्को मूल्य वृद्धिले केहीदिन आयात रोकिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले प्रतियुनिट ३८ रुपैयाँ तिरेर आयात गर्दा ३५ दिनमा प्राधिकरणको लागत थप ८ अर्ब पुग्ने बताए ।

 

३ सयदेखि ३५० मेघावाट विद्युत् आयात पुग्छ, यो आर्थिक वर्षमा ४ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात गरिसकेको छ । ‘बजारमा मूल्यविृद्धि यही रहे ३५ दिनमा करिब ८ अर्ब रुपैयाँ लागत बेहोर्नु पर्छ । दैनिक २३ करोड रुपैयाँसम्म थप लागत लाग्छ,’ उनले भने ।

 

चालु आर्थिक वर्षमा ७ देखि ८ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात गरिने प्राधिकरणको प्रक्षेपण थियो । तर, मूल्यमा भएको वृद्धिको १० अर्ब रुपैयाँसम्म पुग्ने उनले जानकारी दिए ।

 

गत वर्ष २५/२६ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो । यसवर्ष भने त्यत्ति ठूलो आयात नहुने उनले बताए । नेपालमा वर्खामा विद्युत् खेर जाने र हिउँदमा अभाव हुने अवस्था छ । गत वर्ष कात्तिकमा २ देखि ४ सय मेघावाट विद्युत् स्पिल भएको थियो ।

 

यस वर्ष पनि वर्खामा २२ देखि २३ सय मेघावाट विद्युत् उत्पादन प्राधिकरणको प्रक्षेपण छ । ‘माग भएन भने ४ देखि ५ सय मेघावाट विद्युत् स्पिल हुन्छ भन्न्ने प्राधिकरणको प्रक्षेपण छ । तर, माघको अवस्था हेर्दा माग निकै बढेको छ, गत वर्षको यही अवधिमा १३ सय मेघावाट माग थियो भने अहिले १६ सय मेघावाट विद्युत् माग हुन थालेको छ,’ घिसिङले भने ।

 

नेपालको विद्युत् वर्खामा पूर्ण क्षमतामा उत्पादन हुने गरेको छ भने हिउँदमा क्षमताको ३२ देखि ४० प्रतिशत मात्र उत्पादन हुने गरेको छ । अहिले तामाकोशी सहित नेपालले ९०० मेघावाट क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ । घिसिङका अनुसार पिकीङ गर्दा १३ सयदेखि साढे १३ सय मेघावाटसम्म दैनिक बिजुली उत्पादन भइरहेको छ ।

 

प्राधिकरणले पिकिङको लागि तामाकोशी, मस्र्याङदी, मध्ये मस्र्याङदी,कालीगण्डकी लगायतलाई दिउँसो÷राति पानी जम्मा गरेर इनर्जी सब्सीच्युसन गरिरहेको छ ।

 

गत वर्षको तुलनामा यस वर्ष आयात भने घटेको छ । प्राधिकरणले गत चैतको पिक टाइममा करिब ८०० मेघावाट आयात गरिएको थियो भने यस वर्ष साढे ३ सयदेखि ४ सय मेघावाटसम्म दैनिक पिक टाइममा आयात गरिरहेको छ ।

 

१२ हजार मेघावाट आवर आयात

 

प्राधिकरणका प्रवक्ता भट्टराईले नेपालले हाल भारतबाट १२ हजार मेघावाट आवर आयात गरेर आपूर्ति गरिरहेको बताए । ‘हाम्रो प्रणालीमा करिब ३१ हजार मेघावाट आवरमा प्रोजेक्सन भइसकेको छ । भारतबाट १२ हजार मेघावाट आवर आयात छौँ,’ उनले भने, ‘बाँकी नेपाल विद्युत् प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादकहरुको सहयोगमा प्रणाली चलिरहेको छ ।’

 

प्राधिकरणले बिहारको १३२ केभीको कटैया, १३२ को रक्सौल, १३२ को रामनगर, १३२ को टनकपुर, ढल्केवर ४०० केभी प्रशारण लाइनबाट बिजुली आयात गर्दै आएको हो ।

 

‘लोडसेडिङ हुँदैन, यो तत्कालको समस्या हो’

 

प्राधिकरण्णका प्रमुख कार्यकारी निर्देशक घिसिङले यो तत्कालको समस्या भएको र कुनै पनि उद्योगलाई लोडसेडिङ नहुने बताए ।
‘कुनै पनि उद्योगलाई लोडसेडिङ गर्दैनौँ, यो तत्कालको समस्या हो, अन्तर्राष्ट्रिय स्तरमा आएको क्राइसिसको इफेक्ट आएको हो,’ उनले भने, ‘यो परिस्थिति केही समयमात्रै रहन्छ, डेढ महिनापछि हाम्रो आफ्नै उत्पादनले धान्छ ।’

 

राति १२ बजेदेखि कुनै पनि ठाउँको लोडसेडिङ नहुने गरेर व्यवस्थापन गरेको उनले बताए । ‘२० रुपैयाँ हालेर, बीसैँ तिर्ने होइनौँ, कुनैपनि समयमा परिवर्तन हुन्छ, त्यो भन्दा कम पनि हुनसक्छ । दिउँसोको समयमा बिहारले ३ सय मेघावाट विद्युत् सप्लाई गरिरहेको छ,’ उनले भने ।

 

यो नेपालमात्रै नभएर ग्लोबल क्राइसिस भएको घिसिङको भनाइ छ । ‘भारतले ७० विश्वबाट कोलबाट आयात गर्छ, भारतले आयात गररेको कोलबाट मात्रै नेपालले सप्लाइ गर्न पाउँछ भन्ने भारतको नीतिमा छ । भारतमा आयातको कोलको संकट परेको छ,’ उनले भने ।

ग्रीन भेन्चर्सको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्ने ? Read Previous

ग्रीन भेन्चर्सको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्ने ?

दुई कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनको कति आउँदै ? Read Next

दुई कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनको कति आउँदै ?