ग्रीन भेन्चर्सको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्ने ?

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

 

कम्पनीले चैत ८ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता आइपीओमा आवेदन दिने अन्तिम दिन हो ।

 

निष्काशित कुल सेयरमध्ये ३ प्रतिशत (९३ हजार ७५० कित्ता) कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत (१ लाख ५६ हजार २५० कित्ता) सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी २८ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले यसअघि पहिलो चरणमा फागुन २ देखि आयोजना प्रभावित क्षेत्र ओखलढुंगा र रामेछाप बासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड २५ लाख रुपैयाँ ३१ लाख २५ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने मध्यम रुपमा सुरक्षित रहेको जनाउँदछ ।

 

कम्पनीले हाल रामेछाप र ओखलढुंगाको सीमानामा ५२.४ मेगावाटको लिखुखोला चौथो हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

 

कति कित्ता भर्नु उपयुक्त ?

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई २८ लाख ७५ हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा २ लाख ८७ हजार ५०० जनालाई मात्र सेयर दिन पुग्छ ।

 

कम्पनीको आइपीओमा बिहीबारसम्म १६ लाखले आवेदन दिँइसकेका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नुपर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात् १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

बीमा कम्पनीको पूँजी वृद्धि, अब कुनले कति पुर्‍याउनु पर्छ ? Read Previous

बीमा कम्पनीको पूँजी वृद्धि, अब कुनले कति पुर्‍याउनु पर्छ ?

प्रतियुनिट ३८ रुपैयाँमा बिजुली आयात गर्दै प्राधिकरण, मासिक ८ अर्ब घाटा Read Next

प्रतियुनिट ३८ रुपैयाँमा बिजुली आयात गर्दै प्राधिकरण, मासिक ८ अर्ब घाटा