काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा झन्डै २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले विभिन्न कोषमा रहेको १ अर्ब ९३ करोड २६ लाख रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा निक्षेपको रुपमा लगानी गर्ने भएको हो ।
बैंकले बिहीबार सूचना प्रकाशित गर्दै १ वर्ष अवधिका लागि उक्त रकम निक्षेपमा राख्न लागेको जानकारी गराएको हो ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २८ करोड ९८ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ९ करोड २६ लाख रुपैयाँ गरी कुल १ अर्ब ९३ करोड २६ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले चैत १७ गते राति १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।
आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने, रियल इस्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने लगायत शर्त तोकेको छ ।
