काठमाडौं । बीमा कम्पनीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । बिहीबार १६ अंकले घटेको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि बीमा कम्पनीहरुको भने उच्च अंकले बढेको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये जीविन र निर्जीवन बीमा समूह बाहेक बाँकी सबै समूहको परिसूचक घटेको छ । जीवन बीमा २.५५ प्रतिशत र निर्जीवन बीमा १.०५ प्रतिशतले बढ्यो । कारोबारमा आएका सबै बीमा कम्पनीको सेयर मूल्य बढको छ ।
आधिकारिक घोषणा नभए पनि बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गर्ने हल्लाका कारण लगानीकर्ता आकर्षित भएका हुन् ।
बीम समितिले बीमा कम्पनीहरुको पूँजी वृद्धि सम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरी अध्ययन गरिरहेको छ । त्यस्तै, केही दिन अघि बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको पूँजी वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।
यिनै कुरालाई आधार मान्दै अहिले बजारमा बीमा कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने हल्ला चलाइएको पाइन्छ । पूँजी वृद्धि गर्दा कम्पनीहरुले हकप्रद सेयर दिने लोभमा लगानीकर्ता सेयरमा झुम्मिएका हुन् ।यसअघि पनि पूँजी वृद्धि गर्दा अधिकांश कम्पनीले हकप्रद सेयर जारी गरेका थिए ।
त्यस्तै, पछिल्लो केही महिना यता विकास बैंक, फाइनान्स र हाइड्रोमा झुम्मिएका लगानीकर्ता अहिले बीमा सिफ्ट हुन थालेको लगानीकर्ता बताउँछन् ।