विकास खर्च गर्नै नसक्ने भौतिक मन्त्रालय : ८ महिनामा जम्मा २२% खर्च, थप पौने २ खर्ब बजेट माग

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत चालु वर्षमा ३३७ विकास आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । चालु वर्षको ८ महिना बितिसक्दासम्म ती आयोजनाको भौतिक प्रगति तथा पूँजीगत खर्च भने न्यून रहेको छ ।

 

भौतिक पूर्वाधार निर्माण तथा विकासको जिम्मा पाएको मन्त्रालय भने आफैं खर्च गर्न नसकेर दयनीय अवस्थामा छ । मन्त्री, मन्त्रालयका कर्मचारी, सम्बन्धित आयोजनाका कर्मचारीको इच्छाशक्तिको अभाव, अक्षमता, उदासिनता, वेवास्ता र ठेकेदारको लापारबाहीले कुनै पनि आयोजनको लक्ष्य अनुसार काम हुन नसकेको हो ।

 

पूर्वाधारको विकासमार्फत देशलाई डोर्याउने जिम्मा पाएको मन्त्रालयको कार्यशैली भने आफैंमा दयनीय र सुस्त रहेको छ । बितेको दुई वर्ष कोरोनालाई बाहाना बनाएको मन्त्रालयले अहिले पनि खर्च हुन नसक्नुमा कोरोना नै कारण रहेको बताउँछ ।

 

यस वर्ष भौतिक विकास र खर्चले गति लिने अपेक्षा गरिए पनि त्यसो हुन नसकेको मन्त्रालयकै कर्मचारीहरु बताउँछन् । पूँजीगत खर्च गर्न नसके पनि मन्त्रालयले चालु (तलबभत्ता लगायत सुविधा) खर्च भने लक्ष्यभन्दा पनि बढी गरेको छ ।

 

८ महिनामा बजेट खर्च जम्मा २२ प्रतिशत

 

मन्त्रालयले चालु आर्थिक वर्षको दुई चौमासिक सकिँदासम्म एकचौथाई पनि बजेट खर्च गर्न सकेको छैन । हालसम्म मन्त्रालयले जम्मा २२ प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रण कार्यालयको तथ्यांकले देखाएको छ ।

 

चालु आवमा मन्त्रालयका लागि १ खर्ब ५६ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सोमध्ये ८ महिनामा २२ प्रतिशत मात्र खर्च गरेको हो ।

 

चालु आवमा पूँजीगततर्फ १ खर्ब ४६ अर्ब २९ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । सो मध्ये मन्त्रालयले हालसम्म ३२ अर्ब ५३ करोड ३६ लाख रुपैयाँ अर्थात् २२ प्रतिशत मात्र खर्च गरेको छ ।

 

पूँजीगत खर्च गर्न नसकेको मन्त्रालयले चालु (प्रशासनिक) खर्चभने लक्ष्यभन्दा बढी नै गरेको छ । चालु वर्षमा चालु खर्चका लागि ९ अर्ब ९७ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा हालसम्म ६ अर्ब ७७ करोड ९ लाख रुपैयाँ अर्थात् ६७ प्रतिशत बजेट खर्च गरिसकेको छ ।

 

फागुनसम्म जम्मा २२ प्रतिशत खर्च गरेको मन्त्रालयले विभिन्न आयोजनाका लागि भन्दै १ खर्ब ६९ करोड रुपैयाँ थप बजेट माग गरेको छ ।

 

‘जेठसम्म धेरै काम हुन्छ, अहिले खर्च नदेखिएको हो’

 

मन्त्रालयका योजना उपसचिव शिवराज न्यौपानेका अनुसार हाललाई २४ अर्बको हाराहारीमा बजेट सुनिश्चितता भए चालु आवका लागि पर्याप्त हुने छ । उनले फागुनदेखि जेठमा निर्माणका काम धेरै हुने भएकाले अहिले प्रगति कम देखिएको स्पष्ट पारे ।

 

उनले यो पटक युक्रेन र रुसको युद्धले निर्माण सामग्रीमा असर परेकाले पूर्वाधार क्षेत्रमा धेरै प्रगति देख्न नसकिएको बताए । ‘२४ अर्ब रकम वैदेशिक श्रोत भएकोले त्यो हामीले खर्च गर्न मिल्दैन, सरकारले दिएको रकम हुनुपर्छ, हामीलाई २४ अर्ब हाराहारी सरकारले बजेट सुनिश्चित गरिदिए यो आवलाई लगभग पुग्छ,’ न्यौपानेले चाणक्य पोष्टसँग भने ।

 

उनले मन्त्रालयमा प्रोगाम बजेट र अफ प्रोगाम बजेट भनेर माग हुने भएकाले अफ प्रोगामका लागि बजेट धेरै माग हुन सक्ने बताए ।

 

नेप्सेमा दोहोरो अंकको गिरावट, बीमामा उच्च आकर्षण, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, बीमामा उच्च आकर्षण, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

बीमा कम्पनीको सेयरमा किन देखियो लगानीकर्ताको उच्च आकर्षण ? Read Next

बीमा कम्पनीको सेयरमा किन देखियो लगानीकर्ताको उच्च आकर्षण ?