काठमाडौं । सेयर बजार लगातार दोहोरो अंकको गिरावट आएको छ । यससाता अघिल्ला दुई दिन लगातार दोहोरो अंकले बढेको नेप्से पछिल्ला दुई दिन लगातार दोहोरै अंकले घटेको हो ।
सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने ठूलो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम सवा १ अर्बले बढेर सवा ३ अर्ब पुगेको छ ।
बिहीबार सेयर बजार मापक सूचक नेप्से १६.अंकले घटेर २६१३.६७ विन्दुमा आइपुगेको छ । यसदिन २२४ कम्पनीको ३ अर्ब २४ करोड ८९ लाख ४२ हजार ८२५ रुपैयाँ बराबरको ५२ लाख ९८ हजार ५४३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये जीवन र निर्जीवन बीमा समूह बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै २.५४ प्रतिशतले बढेको छ भने फाइनानस समूह सबैभन्दा धेरै १.९८ प्रतिशतले घटेको छ ।
आज जीवन विकास लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको साढे ३० करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, नेपाल टेलिकम २३ करोड र लाइफ इन्स्योरेन्स कर्पोरेसन ११ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
घट्दो बजारमा पनि आज तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने इमर्जिङ नेपाल र युनाइटेड इदीमर्दी हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, ग्रीन लाइफ हाइड्रोपावर ७.५३, लाइफ इन्स्योरेन्स कर्पोरेसन ५.५९, ज्योति लाइफ ५.२६, एनआइबीएल समृद्धि फण्ड (२) ४.८६, सानिमा लाइफ ४.८०, गुराँस लाइफ, नेपाल इन्स्योरेन्स, स्वरोजगार लघुवित्त र प्रभु लाइफको सेयर मूल्य साढे ४ प्रतिशभन्दा धेरैले बढेको छ ।