काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारले घट्ने क्रम अझै जारी राखेको छ । गतहप्ता ३३ अंकले घटेको बजार यो साताको पहिलो दिनमा नै करिब १८ अंकले ओरालो लागेको छ ।
नेप्से अहिले पाँच महिना अघिकै स्थितिमा पुगेको छ । एकोहोरो रुपमा बजार घटिरहँदा बजार पूँजीकरण पनि १४ खर्बको हाराहारीमा आइपुगेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले गत वर्षको नाफाबाट आकर्षक लाभांश घोषणा गरिरहेका भएपनि त्यसले लगानीकर्ताको ध्यान तान्न सकेको छैन् । दिनदिनै बजार घट्न थालेपछि लगानीकर्ता चरम निराशावादी भएका छन् ।
असोज १ गतेदेखि लागू हुने कम्पनी रजिष्ट्रारको कार्यालयले जारी गर्ने सम्पत्ति शुद्धिकरण निवारण निर्देशिका २०७६ मा कुनै पनि व्यक्ति वा संस्थाले १० लाखभन्दा बढीको सेयर कारोबार गर्दा त्यसको लगानीको स्रोत खुलाउनु पर्ने व्यवस्था गरे पछि लगानी कर्ताको मनोबल झन खस्किँदा बजारमा ठूलो असर परेको हो ।
आज सेयर बजार मापक सूचक नेप्से १७.८७ अंकले घटेर ११४०.०१ अंकमा आइपुगेको छ । आज १६२ कम्पनीको २८ करोड ८० लाख ९९ हजार ९१२ रुपैयाँको कारोबार भएको छ । १० लाख ९० हजार २१८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार भएका ११ वटै समूहको सूचक ओरालो लागेका छन् । आज जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ६६.०८ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि १९.६९ अंकले झरेको छ ।
कारोबार रकमको आधारमा नेपाल लाइफ इन्सुरेन्सको सेयर शीर्ष स्थानमा रह्यो । यसको १ करोड ८२ लाख ५२ हजार ३६८ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा नेपाल बैंक र सानिमा बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । नेपालको १ करोड ७४ लाख र सानिमाको १ करोड १५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज सबैभन्दा धेरै रिलायन्स फाइनान्सको सेयर मूल्य करिब ३.५१ प्रतिशतलेले बढेको छ भने गणपति माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ८.३८ प्रतिशतले घटेको छ ।