भ्रमण वर्ष सफल पार्न विश्वव्यापी प्रचार प्रसार, त्रिदेशीय ट्राभल एक्स्पो हुँदै

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटन प्रवद्र्धनका गतिविधि बढेका छन् । तीन महिनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटकीय गतिविधि भइरहेका छन् । अभियानलाई प्रभावकारी बनाउन सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायी लागिपरेका छन् ।

 

मुलुकको समग्र पर्यटन प्रवद्र्धनको जिम्मेवारी लिएको नेपाल पर्यटन बोर्डले पनि आफ्नो भूमिकालाई पूर्ण क्षमताका साथ प्रयोग गर्दै निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिरहेको छ । भ्रमण वर्ष सचिवालयले आफ्ना पर्यटकीय गतिविधि र सरोकारवाला निकायसँगको साझेदारी अभिवृद्धि गर्दै पर्यटन प्रवद्र्धनमा जुटेको छ ।

 

स्वदेशमा मात्र नभई विदेशमा पनि भ्रमण वर्षको प्रचार प्रसारले तीब्रता पाएको छ । बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलियालगायत मुलुकमा नेपालका पर्यटकीय गन्तव्य झल्कने प्रचारात्मक सामग्रीका साथ प्रवद्र्धन गरिएको छ ।

 

हालै बेलायतको लण्डनमा ‘बस ब्राण्डिङ’ गरिएको छ । छिट्टै चीनको बेइजिङ र साङ्घाई तथा अष्ट्रेलियालगायत गन्तव्यमा पनि त्यस्तै प्रवद्र्धनात्मक कार्यक्रम गरिने बोर्डका बजार प्रबन्धक श्रद्धा श्रेष्ठले जानकारी दिए ।

 

भ्रमण वर्षलाई लक्ष्य गर्दै काठमाडौँमा त्रिदेशीय पर्यटन मेला नेपाल–इण्डिया–चाइना एक्स्पो (नाइस) आयोजना गरिँदैछ । भ्रमण वर्ष सचिवालय र बोर्डको सहयोग र समन्वयमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नाइस कार्यक्रम आयोजना गर्न लागेको हो ।

 

झण्डै एक हजार विदेशी पाहुनालाई एउटै मञ्चमा जम्मा गरेर नेपालको पर्यटन प्रवद्र्धन गरिनेछ । नेपालको सबैभन्दा ठूलो स्रोत बजारका रुपमा रहेका दुई छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले बताए ।

 

“हामी दुई ठूला पर्यटकीय स्रोत बजार (भारत र चीन) को बीचमा छौंँ, यसलाई मात्र उपयोग गर्न सक्ने हो भने हामी पर्यटकीय लक्ष्य भेटाउन मुस्किल पर्ने छैन, त्यसैले भारत र चीन लक्षित प्रवद्र्धनका कामलाई प्रभावकारी रुपमा अघि बढाउँदैछौँ”, उनले भने ।

 

नाइस एक्स्पो आगामी फागुन ९ देखि १२ गतेसम्म (फेब्रुअरी २१ देखि २४ तारिख) आयोजना हुनेछ । एक्स्पोमा २०० भन्दा बढी क्रेताले भाग लिने जनाइएको छ । पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार एक सय बिक्रेता, चीन र भारतका ५० भन्दा बढी सञ्चारकर्मी, १५ विज्ञ वक्तालाई आमन्त्रण गरिनेछ ।

 

एक्स्पोमा नेपाल, भारत र चीनका एयरलाइन्स, होटल/रिसोर्ट, पर्यटक यातायात, ट्राभल, टूर, बैंक तथा वित्तीय संस्थालगायत पर्यटनसँग सम्बन्धित कम्पनीले सहभागिता जनाउनेछन् ।

 

सरकारले नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । मुख्य ठूला पर्यटकीय स्रोत बजार चीन र भारत लक्षित प्रवद्र्धनका गतिविधि अघि बढाइएको छ । ती मुलुकबाट केही प्रतिशत मात्र पर्यटकलाई नेपालमा आकर्षण गर्न सके लक्षित पर्यटकीय आँकडा भेट्टाउन समस्या नहुने पर्यटन व्यवसायीको धारणा छ ।

 

संयुक्त राष्ट्र सङ्घ, विश्व पर्यटन सङ्घको सन् २०१७ को वार्षिक प्रतिवेदनअनुसार विश्वमा एक अर्ब ३२ करोड ३० लाख पर्यटक पुगेका छन् । तीमध्ये सबैभन्दा धेरै चिनियाँ पर्यटक छन् । सन् २०१८ मा एक करोड ५० लाख चिनियाँ नागरिक विश्व भ्रमणमा निस्केका छन् । त्यस्तै भारतबाट पनि ठूलो संख्यामा पर्यटक घुम्न जाने गरेका छन् ।

 

नेपाल आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी भारतीय र चिनियाँ नै छन् । नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१८ मा १२ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

 

उक्त अवधिमा भारतबाट दुई लाख ४३८ भारतीय पर्यटक नेपाल आएका छन् भने चीनबाट एक लाख ५३ हजार ६०२ पर्यटकले नेपाल घुमेका छन् । सन् २०१७ मा क्रमशः भारतबाट एक लाख ६० हजार २८३ र चीनबाट एक लाख चार हजार ६६४ नेपाल आएका थिए ।

 

भ्रमण वर्षकै सन्दर्भमा आगामी नोभेम्बरमा चीन र भारतमा बेग्लाबेग्लै नेपाल प्रदर्शनी गर्ने भ्रमण वर्ष सचिवालयको तयारी छ । छिमेकी मुलुकबाहेक अन्य सम्भावित स्रोत बजारमा पनि प्रवद्र्धनात्मक गतिविधि गरिने बताइएको छ । बौद्ध धर्मावलम्बीलाई ध्यान दिँदै म्यानमा, कम्बोडियालगायत देशबाट पर्यटक आकर्षण गर्ने कार्ययोजना रहेको छ ।रासस

सेयर बजारमा पहिरो जाने क्रम जारी, दोहोरो अंकको गिरावट Read Previous

सेयर बजारमा पहिरो जाने क्रम जारी, दोहोरो अंकको गिरावट

नारायणी नदीमा दशैँअघि नै मिनि पानी जहाज चल्ने Read Next

नारायणी नदीमा दशैँअघि नै मिनि पानी जहाज चल्ने