ब्रोकर नं. ११ धितोपत्र बोर्डको कारबाहीमा, यस्तो छ कारण

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ११)लाई कारबाही गरेको छ । ग्राहकसँग एकतर्फी ढंगले महँगो ब्याज असुल गरेको र सम्झौता विपरीत लेनदेन गरे भन्दै बोर्डले  कारबाही गरेको हो ।

 

उक्त ब्रोकरलाई कारबाही स्वरुप ७५ हजार रुपैयाँ जरिवाना गरिएको बोर्डले जनाएको छ । ‘धितोपत्र दलाल व्यवसायी मल्ल एण्ड मल्ल स्टक ब्रोकिङलाई धितोपत्र कारोबार सञ्चालन बिनियमावली, २०७५ को बिनियम १० को उपबिनियम (२) को खण्ड (ठ) विपरित कार्य गरेको देखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ,’ बोर्डले भनेको छ ।

 

उक्त ब्रोकरले ग्राहक पहिचान प्राप्त गरी ग्राहकसँग कारोबार सम्झौता गर्नु पर्ने विद्यमान व्यवस्था विपरीत काम गरेको बोर्डले जनाएको छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा कारोबार सदस्य र लगानीकर्ता बीचमा लिन/दिन बाँकी रकमबाट सृजित दायित्व वा प्रतिफल सम्बन्धी विषय पनि उल्लेख छ ।

 

उक्त व्यवस्था विपरीत ग्राहकसँग सम्झौता नगरी आफूखुसी १३ देखि १८ प्रतिशतसम्म ब्याज असुल उपर गरेको देखिएकोले उक्त धितोपत्र दलाल व्यवसायीलाई सो जरिवाना गरिएको बोर्डले जनाएको छ ।

चीनमा विमान दुर्घटनापछि भारतमा बोइङ ७३७ जहाजमा उच्च निगरानी Read Previous

चीनमा विमान दुर्घटनापछि भारतमा बोइङ ७३७ जहाजमा उच्च निगरानी

देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द Read Next

देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द