चीनमा तयार भए साझाका विद्युतीय बस, नेपाल ल्याउन सिपिङ गरिँदै

काठमाडौं । साझा यातायातले ल्याउन लागेको विद्युतीय बसको निर्माण पूरा भएको छ । चीनको नान्जिङस्थित सीएचपीसी कम्पनीले पहिलो चरणमा साझाका ३ वटा बस तयार गरेको हो ।

 

४० वटा विद्युतीय बस निर्माण गर्ने ठेक्का पाएको चिनियाँ कम्पनीले पहिलो चरणमा परीक्षणका लागि नेपाल ल्याउन लागेका ३ वटा बस निर्माण सम्पन्न गरेको साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलधारले बताए ।

 

सडक परीक्षणका लागि ल्याइने ती बसहरू नेपाल ल्याउन सिपिङको तयारीमा भइरहेको उनले जानकारी दिए । उनले सिपिङ भएको १/२ हप्तामा बस नेपाल आइपुग्ने बताए । कोभिडको तेस्रो लहर चीनमा सुरू भएकाले केही ढिला पनि हुनसक्ने सक्ने उनले बताए ।

 

‘परीक्षणका लागि ल्याउन लागिएको ३ वटा बस बनिसकेको छ, हामीले अनलाइन इन्सपेक्सन पनि गरिसकेका छौं, अनलाइनबाटै ४/५ वटा टेष्ट गरेका थियौं, अब ल्याएर यता गुडाएर हेर्न बाँकी हो,’ तुलाधारले चाणक्य पोष्टसँग भने ‘सिपिङको तयारी हुँदैछ,१/२ हप्तामा आइपुग्छ ।’

 

हाल चिनियाँ कम्पनीले साझाका ४० वटा बस निर्माण गरिरहेको छ । पहिलो चरणमा ल्याउन लागिएको ३ वटा विद्युतीय बस उपत्यकाका सडकमा परीक्षण गरिने छन् । परीक्षण सफल भएपछि बाँकी ३७ वटा विद्युतीय बस ल्याइने छ ।

 

चालु आर्थिक वर्ष २०७८/७९ भित्र विद्युतीय बस ल्याएर काठमाडौं भित्र गुडाउने तयारीका साथ काम भइरहेको तुलाधारले बताए ।साझा यातायात र चीनको सीएचटीसि कम्पनी बीच गत असोज २२ गते सम्झौता भएको थियो । त्यस लगत्तै चिनियाँ कम्पनीले विद्युतीय बस निर्माण सुरू भएको थियो ।

 

साढे ८ मिटर लामो २६ सिटे विद्युतीय बस ल्याउन लागिएको हो । साझा यातायातले भ्याटसहित कुल ६१ करोड रुपैयाँ लगानीमा ४० वटा विद्युतीय बस ल्याउन लागेको हो । एउटा गाडीको मूल्य भ्याटसहित डेढ करोड रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।

 

बसका लागि आवश्यक चार्जर सोही कम्पनीले ल्याउने छ । कम्पनीले २० वटा चार्जिङ स्टेसन बनाएर दिने छ । उक्त कम्पनीले बस ल्याएको ५ वर्षको मर्मत सम्भार समेत निःशुल्क गर्नुपर्ने व्यवस्था सम्झौतामा उल्लेख भएको तुलाधारले बताए ।

 

२६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्नेछन् । साझाले पहिलो चरणमा साढे ८ मिटर लामो बस ल्याउने तयारी गरेको छ । त्यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरू समेत ल्याउने योजना रहेको साझाले जनाएको छ । यी बसहरूमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता हुनेछन् ।

 

सरकारले २०७५ पुष ९ गते ३०० वटा विद्युतीय बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो । सरकारले २०७६ सालमा साझा यातायातलाई विद्युतीय बस किन्न दिने निर्णय गरेको थियो ।

 

 परीक्षणपछि रुट निर्धारण

 

हालसम्म विद्युतीय बस गुडाउने रुट निर्धारण गरिएको छैन । तुलाधारले ३ वटा बसको परीक्षणपछि मात्र रुट निर्धारण गरिने बताए । साझाले काठमाडौं भित्रका सडकमा बसका लागि रुट निर्धारण गर्नेछ । काठमाडौंमा वायुप्रदूषण धेरै हुने भएकाले सहरी क्षेत्रमै बस गुडाइने उनले जानकारी दिए ।

 

पुलचोक, बुढानिलकण्ठ, थानकोटका सडक राम्रो भएकाले सोही रुटमा गाडी गुडाउन सक्ने सम्भावना रहेको उनले बताए । साझा यातायातसँग हाल ७१ वटा ठूला बस छन् ।

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

लाइसेन्सको फाराम भरेका सबैको २ महिनामा भित्र परीक्षा भइसक्ने Read Next

लाइसेन्सको फाराम भरेका सबैको २ महिनामा भित्र परीक्षा भइसक्ने