काठमाडौं । वेरोजगारी नेपालको एक प्रमुख समस्या हो । झन्डै आधाबढी युवाशक्ति रोजगारीका क्रममा विदेशीएका छन् । आफ्नो देशमा रोजगारीका अवसर नपाउँदा उनीहरु विदेशिन बाध्य छन् ।
अहिले करिब ४० लाख हाराहारीमा युवाहरु विदेशमा रहेको बताइन्छ भने दैनिक १५०० बढी युवा श्रम बेच्न बाहिरिने गरेका छन् । वैदेशिक रोजगार अधिकांशको बाध्यता रहेको छ भने केही रहर (लहैलहै)मा जाने गरेका छन् ।
अधिकांश युवा नेपालमा काम नपाएर विदेशिन्छन् भने केही नेपालमा जस्तोपायो त्यस्तो काम गर्नहुन्न भन्ने संकुचित सोचाइका कारण समेत बाहिरिने गर्छन् ।
विदेशिन युवाको बीच पछिल्लो समय नेपालमै स्वरोजगार हुने युवाहरुको संख्या पनि बढ्दो छ । सामान्य व्यापारदेखि ठूल्ठूला व्यापारमा समेत युवापुस्ता होमिन थालेका छन् । आफ्नै देशमा पसिना बगाए विदेशकोभन्दा धेरै कमाइ गर्न सक्ने स्वरोजगार भएका युवाहरुको अनुभव छ ।
यस्तै, सोचाइ भएका एक युवा हुन् सिन्धुली दुधौली नगरपालिका धनसरिका २३ वर्षिय कृष्ण अधिकारी । उनी सामान्य तरकारी व्यापारी हुन् । तर, उनको व्यापार र कमाइ भने निकै लोभ लाग्दो रहेको छ ।

उनले तरकारी बेचेरै आकर्षक कमाइ गर्ने गरेका छन् । उनले हाल दैनिक९० हजारदेखि १ लाख रुपैयाँसम्मको तरकारी बेच्ने गरेका छन् ।
लगातारको मेहनतले उनले छोटै समयमै काठमाडौंमा घर र गाडी समेत जोड्न सफल भएका छन् । नेपालमै काम गरेर केही हुँदैन भन्ने युवाहरुको बीच कृष्ण उदाहरणीय र सफल व्यक्ति समेत बनेका छन् ।
डोकोबाट साग बेच्न सुरू
सामान्य आर्थिक अवस्था भएका अधिकारी आफ्नो दैनिक जीवन गुर्जानकै लागि ४ वर्ष अघि काठमाडौं आए । तर काठमाडौंको जीवन हामीले सोचे जस्तो पक्कै थिएन ।
सुरूआतमा के खाने, के गर्ने भन्ने समस्या भयो । उनले काम नगरी खान नपाइने बुझेर कामको लागि धेरैतिर भौँतारिए । कतै जागिर पाएनन् । त्यसपछि आफैं व्यापारी बने । उनको व्यापार यात्रा भने डोकोको सागबाट भएको हो ।
‘काठमाडौं आएपछि काम नगरी खान पाइँदैन भनेर धेरै कामको खोजीमा भौँतारिएँ । तर, कतै काम पाइएन, पछि साग बेच्नेहरूले नै मूलपानीबाट ल्याएर साग बेच्नु भन्नु भयो, त्यसपछि डोकोमा साग बेच्न थाले,’ कृष्ण भन्छन् ।

सुरूआतमा डोकोमा बोकेर साग बेच्न गाह्रो भएपछि भने सटरमा तरकारी बेच्न थालेको अधिकारी बताउँछन् । उनको तरकारी पसल चाबहिलस्थित गणेश स्थान मन्दिरको पश्चिम गेट नजिकै छ । उनले सटर भाडाबापत मासिक ५० हजार रुपैयाँ तिर्ने गरेका छन् ।
जे ल्याए पनि एकैछिनमा बिक्छ
व्यापार गर्न थालेको छोटो समयमै सफलता हात पार्न सफल भएका कृष्ण काठमाडौंको व्यापार अचम्मै रहको बताउँछन् । काठमाडौंमा विक्री नहुने कुनै वस्तु नभएको उनको अनुभव छ ।
‘खेती योग्य जमिनको अभावको कारण उपत्यकामा कमै मात्र वस्तु उत्पादन हुन्छ । अधिकांश वस्तु बाहरबाटै ल्याउनुपर्छ । तर, जे वस्तु ल्याए पनि बिक्छ,’ उनी भन्छन्, ‘काठमाडौंमा विक्री नहुने कुनै वस्तु छैन, जे ल्याए पनि एकछिनमा सकिन्छ ।’
उनी तरकारी मात्र नभई मौसमी (सिजनएबल) वस्तु पनि विक्री गर्र्छन् । तरकारीभन्दा सिजनएबल वस्तु बेच्दा धेरै फाइदा हुने उनको व्यापार अनुभव छ ।
गत ठूली एकादशी र तिहारको सम्झना गर्दै कृष्ण भन्छन्, ‘तिहारमा काभ्रेको पाँचखालबाट २ हजारको एक ट्रक रातो माटो र ठूली एकादशीमा भक्तपुरबाट सित्तैमा बाँसको झिक्रा ल्याएको थिएँ । बाँस मैलै सित्तैमा (गाडी भाडा १ हजार मात्र तिरेर) ल्याएको थिएँ । यी दुवैैको व्यापारबाट मैलै लाख रुपैयाँसम्म कमाएँ,’ उनी भन्छन् । उनले विभिन्न चाडपर्व र सिजन अनुसार फलफूल र अन्य वस्तु पनि बेच्ने गरेका छन् ।
टिकटकमा ‘तरकारी ब्वाइ’को नामले भाइरल
सामान्य एउटा सटरमा तरकारी बेच्ने उनी सामाजिक संजाल टिकटकमा भाइरल छन् । उनलाई टिकटकमा तरकारी ब्वाईको नामले समेत चिनिन्छ ।

उनी सुरूमा तरकारी बेच्दाको एउटा भिडियोबाट भाइरल बनेका हुन् । ‘टिकटककै कारण भाइरल हुन्छु भन्ने थिएन, तर आउनुस्, आउनुस् सस्तोमा दिन्छु मेरो के जान्छ,’ भनेर तरकारी बेचेको भिडियो भाइरल बन्यो, त्यसपछि सबैले मलाई भाइरल तरकारीवाला दाई भाई भनेर चिन्न थाल्नु भयो,’ अधिकारी भन्छन् ।
उनले रहेक दिन टिकटकमा आफ्नो पसलको भडियो पोष्ट गर्छन् । उनको मेहनत र सफलतामा रमाउँनेहरू उत्तिकै छन् । उनलाई टिकटकमा ८३ हजार बढीले फलो गरेका छन् भने उनको भिडियोलाई १० लाखभन्दा बढीले हेरेका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालको कारण धेरै मान्छेलाई समस्या हुने गरको भएता पनि कृष्ण आफूलाई भने अहिलेसम्म फाइदा भएको बताउँछन् । ‘सामाजिक सञ्जालले धेरैलाई नराम्रो गरेको पनि देखिन्छ । तर मलाई अहिलेसम्म राम्रो भएको छ, टिकटककै कारण मेरो व्यापार बढेको छ , तपाईंको टिकटक हेरेर आएको म भन्ने धेरै हुनुहुन्छ,’ उनी भन्छन् ।
फलोअर्सको माया, काठमाडौं बाहिरबाट पनि आउँछन् तरिकारी किन्न
आफूलार्ई टिकटकमै देखेर मानिसहरू उपत्यका बाहिरबाट पनि तरकारी किन्न आउने गरेको उनी बताउँछन् । ‘काठमाडौंबाटै फलोअर्स आउँदा त्यस्तो केही लागेन, यता काम परेर आउँदा पस्नु भयो होला भन्ने लाग्थ्यो । तर, ओखलढुङ्गा र वीरगंजबाट समेत फ्यान आएर ७० हजार सम्मको तरकारी लग्नु भयो । उहाँहरूले बिहेको लागि भनेर तरकारी लग्नु भयो,त्यसपछि भने आफूले ठूलै काम गरेछु भन्ने लाग्छ,’ कृष्ण भन्छन् ।
योसँगै उनका फ्यानले समय समय फोनसँगै विभिन्न प्रकारका उपहार ल्याइदिने गरेको उनी बताउँछन् । वैदेशिक रोजगारीमा गएका युवाहरूले आफ्नो सफलतामा खुसी हुँदै नेपाल फर्कर यहीँ केही गर्ने योजना रहेको बताउँदा आफूलाई खुसी लाग्ने कृष्ण बताउँछन् । यस्ता प्रतिक्रियाले आफूलाई थप ऊर्जा थप्ने उनको भनाइ छ ।
दैनिक १८ घण्टा खट्छन्
व्यापारमा सफल मानिएका कृष्ण कामलाई सानो ठूलो नमानी इमान्दारपूर्वक गर्नुपर्ने बताउँछन् । ‘काम सानोठूलो भन्ने हुँदैन, तर, इमान्दारपूर्वक गर्नुपर्छ । आफ्नो काममा लाग्ने पूरै समय दिनुपर्छ,’ उनी भन्छन् ।

जुनसुकै काममा पनि सफलता पाउन मेहनतका साथै मनैदेखि समर्पित भएर लाग्नुपर्ने उनी बताउँछन् । कृष्ण दैनिक १८ घण्टा बढी काम गर्ने गर्छन् । राती १ बजेदेखि बेलुका ९ बजेसम्म आफू खटिने गरेको उनी बताउँछन् ।
‘म दिनको १८ घण्टा बढी खट्छु । म तरकारी लिन राति १ बजे नै कालीमाटी तरकारी बजार पुग्छु । राती नै नगए राम्रो तरकारी पाइँदैन । त्यही तरकारी बेच्न ९ बजेसम्म पसलमै हुन्छु,’ उनी भन्छन्, ‘कहिलेकाहीँ खाना खान समेत भ्याइनभ्याइ हुन्छ, अहिले जोसजाँगर छ, अहिले खटेर काम नगरे कहिले गर्ने, ’ उनी भन्छन् ।