काठमाडौं । नेपालको चौथो केबलकारको रुपमा सञ्चालनमा आएको पोखराको अन्नपूर्ण केबलकार दैनिक १३ घण्टा चल्ने भएको छ । अन्नपूर्ण केबलकार प्रालिले आजदेखि उक्त केबलकार विहान ५ बजेदेखि साँझ ६ बजेसम्म संचालन गर्ने भएको हो ।
फागुन ६ गतेदेखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकार यसअघि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।केबलकार विहानैदेखि साँझसम्म संचालन हुने भएपछि पर्यटकले सूर्योदय र सूर्यास्तको अवलोकन गर्नसक्ने कम्पनीले जनाएको छ ।
अन्नपूर्ण केबलकारको दूरी सेदीबगरदेखि सराङकोटसम्म २ हजार ४०० मिटर छ । केबलकारमा १७ वटा गोन्डोला रहेको छ । एउटा गोन्डोलामा आठजनाले यात्रा गर्न सकिने केबलकारमा एक घन्टामा ५०० जनासम्मले यात्रा गर्नसक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले नेपालीका लागि ७०० रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि ८०० रुपैयाँ र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर भाडादर तय गरेको छ ।
ज्येष्ठ नागरिक तथा विद्यार्थीका लागि २५ प्रतिशत छुट र अपंगता भएका व्यक्तिका लागि भने ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । साथै, सहकारीबाट भ्रमणमा आउने सदस्यलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।