काठमाडौंं । राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघले फागुन महिनामा मात्रै तीन पटक जिउँदो ब्रोइलर कुखुराको मूल्य वृद्धि गर्यो । दानाजन्य कच्चा पदार्थको मूल्य निरन्तर बढेको भन्दै संघले पछिल्लो समय मूल्य बढेको ४ दिन नबित्दै पुनः मूल्य वृद्धि गरेको थियो ।
तर, कुखुरा विक्री व्यवसायी संघले कुखुराको मूल्य वृद्धि गरे पनि किसानले भने आफूहरुले बढेको मूल्य नपाएको बताएका छन् । जिउँदो ब्रोइलर कुखुराको मूल्य वृद्धि गर्दा किसानले पनि बढेको मूल्य पाउनु पर्ने थियो, तर त्यस्तो नभएको कुखुरा पालक किसान संघले बताएको छ ।
जिउँदो कुखुराको मूल्य बढाइए पनि अहिलेसम्म किसानले भने नपाएको कुखुरा पालक किसान संघका अध्यक्ष झनक पौडेलले बताए ।‘व्यवसायीले जिउँदो ब्रोइलर कुखुराको मूल्य वृद्धि गर्दा किसानले पाउने मूल्य पनि बढाएका थिए । तर, अहिलेसम्म किसानले बढेको मूल्य पाएका छैनन्, उही पुरानै मूल्य दिइरहेका छन्,’ पौडेलले चाणक्य पोष्टसँग भने ।
‘गत हप्तादेखि लागू हुने गरी जिउँदो कुखुराको मूल्य प्रतिकेजी ३०० रुपैयाँ पुर्याइएको थियो । तर, किसानले अहिलेसम्म उक्त मूल्य पाउन नसकेको उनले बताए । एकहप्ता बित्दा समेत किसानले बढेको मूल्य पाएका छैनन्, अहिले पनि व्यवसायीले किसानसँग प्रतिकिलो २८०/२९० रुपैयाँमै कुखुरा लग्ने गरेका छन्, उनले भने ।
मासु विक्रेताहरुले उपभोक्तालाई बढेको मूल्य अनुसार मासु विक्री गरेको तर किसानलाई भने पुरानै भाउ दिने गरेको उनको भनाइ छ ।
यता, राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघले किसानले प्रतिकिलो ३०० रुपैयाँ दरमै पाउने गरी मूल्य वृद्धि गरिएको बताएकोे छ । ‘संघले फागुन महिनामै ३ पटक कुखुराको मूल्य वृद्धि गरेको छ । फागुन २७ गतेदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ बढाएर ३०० रुपैयाँ कायम गरिएको छ, किसाने पाउनुपर्ने मूल्य यही हो,’ विक्री संघका अध्यक्ष जंगबहादुर बीसीले भने । संघले तोकेको मूल्य विक्रेताले किसानलाई दिनु पर्ने उनको भनाइ छ ।
नयाँ मूल्य कायम भएसँगै उपभोक्ताले तयारी ब्रोइलर खुकुराको मासुको लागि प्रतिकिलो ४२० रुपैयाँ तिर्दै आएकोे बीसीले बताए । ‘२८० मा किसानबाट कुखुरा संकलन गरिन्छ भने, ३८० भन्दा बढी मूल्यमा उपभोक्ताले प्रयोग गर्नुहुन्न भन्ने हाम्रो मान्यता हो, यदि त्यस्तो भए, त्यो मासु व्यवसायीको कालोबजारी हो भन्ने हाम्रो निष्कर्ष हो,’ अध्यक्ष पौडेल भन्छन् । यसको लागि पोल्ट्री क्षेत्रको नीति र वास्तविक किसान संगठनसँग बसेर कुरा गर्ने हो भने,हामी उपभोक्तालाई ब्रिफिङ गर्न तयार रहेको समेत उनले बताए ।
किसानले प्रतिकिलो २९० मा कुखुरा बेच्दा उपभोक्ताले ३९० मा मासु पाउनुपर्छ । तर बजारमा किसानले गर्दा मासुको मूल्य वृद्धि भएको भन्ने भ्रम छ , त्यो भ्रम चिर्नुपर्ने छ यसको विरुद्धमा उत्पादक र उपभोक्ता मिलेर बढ्नुपर्ने किसान संघको भनाइ छ ।
हाल नेपालमा कुखुरा उत्पादन ७० प्रतिशतमा सीमित भएको छ । जाडो सिजनमा किसानले चल्ला नहालेका कारण अहिले उत्पादनमा गिरावट आएको बताइएको छ । अहिले हालेको चल्ला कुखुरा बन्न एकडेढ महिना लाग्ने र सोबेलासम्म मासुको मूल्य नघट्ने व्यवसायीहरु बताउँछन् ।
नेपालमा प्रतिहप्ता ३० लाख चल्लाले आवश्यकता पूरा गर्छ भने दैनिक ८ लाख किलो मासु खपत हुँदै आएको छ । उत्पादित ८ लाख किलोमध्ये उपत्यकामा ५ लाख किलो र उपत्यका बाहिर दैनिक ३ लाख किलो मासु खपत हुँदै आएको छ । पछिल्लो समय मासु उत्पादन नै कम भएकाले मागको ६० प्रतिशत मात्र मासु उत्पादन हुँदै आएको बताइएको छ । उत्पादन वृद्धि गर्न सके सहज खपत हुने किसान संघको भनाइ छ ।