काठमाडौं । अपि पावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ३९.३६ प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।
बोर्डले अपिलाई १०ः३.९३६ अनुपातमा हकप्रद निष्काशन गर्न फागुन २६ गते अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो ।
बोर्डबाट अनुमति पाएसँगै कम्पनीले अब हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ । अपिले यसअघि नै सेयर निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
कम्पनीले हाल ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना र केही मेगावाटको सोलार आयोजना निर्माण गरिरहेको छ । अपि पावर कम्पनीले यसअघि नै ४ मेगावाटको चन्द्रपुर सौर्य आयोजना सञ्चालनमा ल्याइसकेको छ ।