काठमाडौं । अमेरिकाले रूसबाट आयात हुने इन्धनमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसबाट आयात हुने कच्चा तेल, प्राकृतिक ग्यास, कोइला लगायत सबै किसिमका इन्धनमा प्रतिबन्ध लगाएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार यस्तो घोषणा गरेका हुन्। उनले यो कदमले ‘रुसको अर्थतन्त्रको मुख्य धमनी’लाई नै प्रहार गर्ने बताएका छन्।
युक्रेनमाथि सैन्य हमला गरेको रूससँग सबै किसिमका साझेदारी अन्त्य गरेर दबाब सिर्जना गर्ने रणनीतिअनुरूप अमेरिकाले पेट्रोलियम आयातमा प्रतिबन्ध लगाएको हो।
रुसको अर्थतन्त्र ऊर्जा व्यापारमा धेरै मात्रामा निर्भर छ। रुस साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो।
अमेरिकाले सन् २०२१ मा महिनाको २ करोड ब्यारेलभन्दा बढी कच्चा तेल र प्रशोधित पेट्रोलियम पदार्थ रूसबाट आयात गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। यो कुल अमेरिकी मागको ३ प्रतिशत हो।
अमेरिकाले सन् २०२२ को अन्त्यसम्म रूसी कच्चा तेल लगायत अन्य पेट्रोलियम आयात चरणबद्ध रूपले घटाउँदै लैजाने बताएको छ। अमेरिकाले आफ्नो कुल पेट्रोलियम मागको ८ प्रतिशत रूसबाट आयात गर्छ।
रूस युक्रेन बीचको युद्धपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढ्दै गएको छ। दुई साता अघि युद्ध सुरु हुनु अघि प्रतिब्यारेल ८५ डलर हाराहारी रहेको कच्चा तेलको मूल्य सोमबार १३९ डलर पुगेको थियो । यसैबीच रुसले पनि आफ्नो तेलमा प्रतिबन्ध लगाए भाउ प्रतिब्यारेल ३०० डलर पुग्ने चेतावनी दिइसकेको छ ।
नेपालमा कस्तो पर्ला असर ?
अमेरिका र पश्चिमा देशहरुले रुसी तेलमा प्रतिबन्ध घोषणा गरेसँगै कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य थप वृद्धि हुनेछ । र, त्यसको सिधा असर नेपाल लगायत विश्वका प्रायःजसो सबै देशमाथि पर्नेछ।
नेपालमा पेट्रोलियम पदार्थमा पूर्ण विदेशमा निर्भर छ । प्रतिबन्धपछि अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य वृद्धिले नेपालमा पनि आगामी दिनमा इन्धनको भाउ झनै बढ्ने छ । इन्धनको मूल बढेसँगै ढुवानी लागत बढ्ने हुँदा उपभोग्य वस्तुको भाउ पनि बढ्ने छ । जसले आम उपभोक्ता महँगीको मारमा पर्नेछन् ।
निगमले अहिले मासिक ५ अर्ब बढी घाटा बेहोर्दै आएको छ । अहिले नै तेल किन्न सरकारसँग पैसा माग्दै आएको छ । आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ बढ्दा निगमलाई तेल खरिद गर्न झनै ठूलो रकम आवश्यक पर्छ । अहिले बचत शूनयमा झरेको निगमले सरकारले पैसा नदिए इन्धन किन्न नै आर्थिक समस्या हुने देखिन्छ ।