काठमाडौँ । मंगलबार अमेरिकी डलरको भाउ हालसम्म्मकै उच्च हुँदा नेपाली मुद्रा भने इतिहासकै कमजोर बनेको छ । रुस–युक्रेन युद्धको कारण माग उच्च भएसँगै डलरको भाउ बढ्दा नेपाली मूद्रा अवमूल्यन भएको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबार १ अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसाँ र विक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।
यसले नेपाल जस्तो आयातमूखी अर्थतन्त्र भएको देशमा महंगी बढ्ने र विदेशी विनिमय भुक्तानीमा असर पर्ने विज्ञहरू बताउँछन् ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिना(साउन–पुस)मा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.९४ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.८७ प्रतिशतले अधिमूल्यन भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
चालु वर्षको पुससम्म ९ अर्ब ८९ करोड अमेरिकी डलर विदेशी विनिमय संचिति रहेको राष्ट्र बैंकले जनाएको छ । जसले नेपालको ७.२ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ ।
नेपालमा राष्ट्र बैंकले विदेशी विनिमय संचिति घटेको भन्दै आइतबारदेखि सुन आयातमा ५० प्रतिशत कटौति गरेर दैनिक १० किलोग्राम परिणाम बराबरको आयात गर्नपाउने व्यवस्था गरेको थियो । यस्तै, बैंकले यसअघि नै विभिन्न प्रकारका वस्तु आयात गर्न एलसी खोल्दा ५० देखि शतप्रतिशतसम्म अनिवार्य नगद मार्जिनको व्यवस्था गरेको थियो ।
विश्वव्यापी रूपमा लगातार डलरको माग बढेसँगै यसको भाउ उच्च विन्दुमा पुगेको जानकारहरू बताउँछन् । पछिल्लो समय रुस-युक्रेन युद्धको तनावले युरोप लगायत विश्वभरका मानिसमा तनाव उत्पन्न गरेको छ । जसकारण डलरको माग बढ्दा अमेरिकी अर्थतन्त्र झनै बलियो बनेको हो ।
विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको मूल्य उच्चदरमा वृद्धि भइरहेको छ । गत वर्ष २४ डलरमा झरेको प्रतिब्यारेल पेट्रोलियम पदार्थको मूल्य अहिले बढेर १३९ डलरसम्म पुगेको छ ।
संसारभर पेट्रोलियम पदार्थको मूल्य वृद्धि खेपिरहेकोमा डलरको भाउ वृद्धिले मार थपेको अर्थविद्हरूले बताइरहेका छन् । करिब दुई हप्तादेखि जारी रुस–युक्रेन युद्धका कारण विश्वभर तेलको मूल्य अझै बढ्ने आकलन गरिएको छ ।
दुई देशबीच बढ्दो तनावका बाबजूद अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल ३ सय डलरसम्म पुग्ने रुसले चेतावनी दिइरहेको छ । साउदी अरबपछि रुस विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश हो । विश्वभर कुल मागको ८ प्रतिशत आपूर्ति रुसले गर्छ । पश्चिमा देशहरूले उसमाथि प्रतिबन्ध लगाएपछि तेलको मूल्य बढाउने रुसले बतायरहेको छ ।
नेपाली अर्थतन्त्रमा कति असर ?
डलरको भाउ बढ्दा नेपाली मूद्राको अवमूल्यनका हुन्छ । जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा बढेको महंगिको भार नेपालसम्म आइपुग्छ । यसले नेपालमा आयात गरिने वस्तुहरूको मूल्य बढ्ने भएकाले महंगीलाई प्रोत्साहन दिने गरेको छ ।
नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय रहेको छ । डलरको भाउ वृद्धिले भारतीय मुद्रा कमजोर हुँदा त्यसको असर नेपाली अर्थतन्त्रमा पर्ने अर्थविद् बताउँछन् ।
डलरको भाउ वृद्धिले विदेशी मुद्रा भुक्तानी र पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा तत्काल र प्रत्यक्ष असर पर्ने पूर्व अर्थसचिव तथा अर्थविद् रामेश्वर खनाल बताउँछन् ।
‘डलरको भाउ बढ्नुको असर तत्काल सरकारले गर्ने विदेशी विनिमय भुक्तानी र पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा हो,’ खनालले चाणक्य पोष्टसँग भने, ‘नेपालको भारतीय मुद्रासँग स्थिर विनिमय भएकाले त्यहाँको मुद्रा कमजोर हुँदा त्यसको असर नेपालमा पनि पर्छ ।’
नेपालले गर्ने वैदेशीक व्यापारको सबैभन्दा ठूलो हिस्सा भारत भएकाले भारतमा पर्ने मूल्य वृद्धि चापको असर पेट्रोलियम पदार्थ हुँदै नेपालमा पर्ने उनले बताए । नेपालको भारतसँग मात्रै वैदेशिक व्यापारको हिस्सा ७० प्रतिशत भन्दा बढी रहेको छ ।
केमा हुन्छ फाइदा ?
डलरको मूल्य बढ्दा नेपाली अर्थतन्त्रमा असरका साथै स्वदेशी उत्पादन तथा उद्योगहरूका लागि विश्वस्तरीय प्रतिस्पर्धाको ढोका समेत खुल्ने गरेको छ ।
नेपालमा उत्पादन हुने दुग्ध,कोल्ड ड्रिङस लगायत वस्तुहरूले बजार पाउने अर्थविद्हरू बताउँछन् । यसले उद्योगको उत्पादकत्व र क्षमतामा वृद्धि भएर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्प्रर्धा गर्नसक्ने बनाउँछ । साथै, विदेशबाट आयात गरिने वस्तुहरूको स्वदेशमै उत्पादनको लागि समेत उद्योगहरूलाई प्रोत्साहन बढ्ने उनीहरूको भनाइ छ ।
‘पेट्रोलियम पदार्थको मूल्य वृद्धिले विदेशी सामानको मूल्ये दोहोरो रुपले बढ्ने भएकाले स्वदेशी उत्पादनले बजार पाउँछ र उनीहरूको क्षमता वृद्धि हुन्छ,’ खनाल भन्छन्, ‘यसले नेपाली मुद्रा कमजोर भएर महंगो भएका वस्तुहरूको आन्तरिक उत्पादन बढाउने ढोका खोलिएको छ ।’
विद्युतीय सवारी साधन तथा सामग्रीहरूको प्रयोगले पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्ने अवसर बन्ने उनले बताए । यसका साथै, डलरको भाउ वृद्धिले विदेशबाट आउने पर्यटक मार्फत हुने आम्दानी बढ्छ ।
वैदेशीक रोजगरीमा गएकाहरूले विदेशी मुद्रामा रेमिट्यान्स पठाउने भएकाले उनीहरूले नेपाल पठाउने पैसामा पनि वृद्धि हुने भएकाले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ ।
किन बढिरहेको छ डलरको भाउ ?
विश्वव्यापी रूपमा भुक्तानी गर्न प्रयोग हुने करेन्सी भनेको डलर हो । त्यसैले हरेक देशले डलरको संचिति बढाउन तर्फ ध्यान दिएका हुन्छन् ।
साथै, डलरमाथिको अन्तर्राष्ट्रिय विश्वनियताले पनि यसको माग बढ्दै गएको हो । माग बढेपछि डलरको भाउ बढ्ने गरेको र त्यसको तुलनामा स्वदेशी मुद्रा अवमूल्यन हुने गरेको जानकारहरू बताउँछन् ।
‘विश्वभर लामो अवधिदेखि डलर विश्वनिय करेन्सी हो, अमेरिकी सरकारले कहिल्यै पनि यसलाई अमौद्रिकीकरण, खारेज, सट्टापट्टा गर्ने गदैन्,’ उनी भन्छन्, ‘मानिसको सोच डलर एक ठाउँमा राखेपछि त्यसको मूल्य सयौ वर्षसम्म रहिरहन्छ भन्ने छ, त्यसैले यसको माग बढेपछि भाउ पनि बढ्छ ।’
जब अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक वा अन्य कारणले संकट आउँछ त्यसपछि तरलताको दबाब बढ्छ । डलरमा लगानी गरे जतिबेला पनि काम लाग्छ भन्ने सोचाइ संसारभरका देशहरूमा हुन्छ । अहिले रुस–युक्रेन युद्धले युरोपियन देशका मानिसमा अनिश्चय जन्माएपछि डलरको माग बढरिहेको छ ।