काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै दैनिक आयातको परिमाण आधा अर्थात् ५० प्रतिशत घटाएको हो ।
योसँगै व्यवसायीले अब दैनिक १० किलोग्राम परिमाण बराबरको मात्रै सुन आयात गर्न पाउने भएका हुन् । व्यवसायीले यसअघि प्रतिदिन २० किलोग्राम परिमाण बराबरको सुन आयात गर्न पाउने पाउँथे ।
विदेशी मुद्रा संचिति निरन्तर घटेको भन्दै विभिन्न प्रकारका वस्तु आयातमा कडाइ गर्दै आएको राष्ट्र बैंकले यसपटक भने सुन आयातको परिमाण आधा घटाएको हो । विहेको सिजन नजिकिँदै गर्दा धेरै खपत हुने बेलामै राष्ट्र बैंकले सुन आयातमा अंकुश लगाएको हो ।
राष्ट्र बैंकको उक्त नीतिले विदेशी मुद्रा संचितिमा राहत पुर्याए पनि सुनको अवैध कारोबारमा भने प्रोत्साहन पुर्याउने जानकारहरू बताउँछन् ।
विवाहको सिजनमा अवैध सुन आयातको विषय बारम्बार चर्चामा आउँछ । मागभन्दा अपूर्ति कम हुँदा भन्सार छलेर यस्तो कारोबार गर्नेहरूको गिरोह निकै सक्रिय हुनेगरेको सरकारी अधिकारीहरूले नै बताउने गरेका छन् ।
नेपाल सून चाँदी व्यवसायी महासंघका अनुसार नेपालमा दैनिक २० देखि २५ किलोग्राम बराबर सुनको माग रहेको छ । माग अनुसारको सुन आयातमा सरकारले कडाइ गरे पनि अवैध बाटोबाट आयातभने नरोकिने कतिपयको बुझाइ छ । हाल विदेशबाट आउँदा प्रतिव्यक्तिले ५० ग्रामसम्म मात्रै सुन ल्याउन पाउने व्यवस्था छ ।
तर, भन्सार छलेर वर्षेनी हुने सुनको अवैध कारोबारका घटनाहरू भने बेला–बेलामा आउने गरेका छन् । हिजोआज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट औसतमा दैनिक १ किलोभन्दा बढी अवैध सुन बरामद हुँदै आएको छ । यसले पनि नेपालका अवैध सुनको कारोबार बढी रहेको देखाउँछ ।
‘सुनको कालोबजारी बढाउँछ’
राष्ट्र बैंकको उक्त नीतिले सुनको कालोबजारी तथा नक्कली सुनको कारोबार बढाउने व्यवसायीहरूको चिन्ता छ । नेपालमा सुनको माग उच्च भएकाले सुनको आयातमा कडाइ गरे पनि अवैध माध्यमबाट आपूर्ति भने नरोकिने जानकारहरूको भनाइ छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ मणिरत्न शाक्य सुन आयातमा गरिएको कडाइको प्रभाव केही दिनमै देखिन थाल्ने बताउँछन् । ‘राज्यको ढुकुटी नै रित्तएपछि हामीले सुन आयात गर्न पाउनुपर्छ भन्ने त होइन तर यसको प्रभाव केही दिनमै देखिन्छ,’ उनले भने, ‘यसले अवैध कारोबार गर्नेहरूलाई प्रोत्साहन दिन्छ । कालोबजारी बढाउँछ ।’
‘सहज अवस्था हुँदा नीतिमा पुनरावलोकन’
अर्थतन्त्रका सूचकहरू नकारात्मक रहेकाले त्यसलाई सुधार गर्नतर्फ राष्ट्र बैंकले ध्यान केन्द्रित गरेको लागेको अधिकारीहरू बताउँछन् । चालु आर्थिक वर्षको सुरूआति अवस्था देखिनै ओरालो लागेको अर्थतन्त्र हालसम्म लयमा फर्कन सकेको छैन् । जसलाई सुधारका लागि विभिन्न वित्तीय औजारहरू प्रयोग गरेको उनहिरूबो दाबी छ ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट विदेशी विनिमय संचिति र सोधान्तर स्थितिमा परेको चुनौतीलाई व्यवस्थापन गर्न सुन आयातमा कडाइ गरेको बताउँछन् । ‘अहिलेको मुख्य उद्देश्य भनेको विदेशी विनिमय संचिति बढाएर शोधान्तर स्थितिलाई सहज बनाउने हो,’ उनले चाणक्य पोष्टसँग भने, ‘यही चुनौतीलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको हो ।’
अवस्था सहज भएपछि राष्ट्र बैंकले आफ्ना व्यवस्थाहरूमा पुनरावलोकन गर्ने उनले बताए । गत वर्षको भन्दा सुनको आयात उल्लेख्य बढेकोले त्यसलाई रोक्न आयातमा कडाइ गरिएको उनको भनाइ छ ।
अहिले विदेशी विनिमय संचितिमा चाप परेको छ भने शोधान्तर स्थिति घाटामा रहेको छ । साथै, गतको आयात गत वर्षको तुलनामा उल्लेख्य बढेकाले यस्तो व्यवस्था गरिएको उनले बताए ।
राष्ट्र बैंकका अनुसार अहिले ६ महिनाको वस्तु आयात गर्न पुग्ने मुद्रा संचिति रहेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म २५ अर्ब २१ करोड ६८ लाख रुपैयाँ बराबरको ३ हजार ६४३ किलो सुन आयात भएको छ ।