काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारले घट्ने क्रम अझै जारी राखेको छ । यो साता आइतबारदेखि नै ओरालो लागेको बजारले साताको अन्तिम दिनसम्म नै ओरालो यात्रा निरन्तर जारी राखेकाे छ ।
आइतबार दोहोरो अंकले घटेर सुरु भएको बजार साताभरिमा ३३.१८ अंकले घटेको छ । सूचकमा ठूलो गिरावट आएपनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । यो साता भरिमा १ अर्ब ५५ करोडको रुपैयाँको कारोबार भएको छ ।
नेप्से अहिले पाँच महिना अघिकै स्थितिमा पुगेको छ । एकोहोरो रुपमा बजार घटिरहँदा बजार पूँजीकरण पनि १४ खर्बको हाराहारीमा आइपुगेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले गत वर्षको नाफाबाट आकर्षक लाभांश घोषणा गरिरहेका भएपनि त्यसले लगानीकर्ताको ध्यान तान्न सकेको छैन् । दिनदिनै बजार घट्न थालेपछि लगानीकर्ता चरम निराशावादी भएका छन् ।
आज सेयर बजार मापक सूचक नेप्से ५.३३ अंकले घटेर ११५७.८८ अंकमा आइपुगेको छ । आज १६८ कम्पनीको ३७ करोड ६१ लाख ८४ हजार ८९१ रुपैयाँको कारोबार भएको छ । १५ लाख ५६ हजार ७९० कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार भएका ११ वटै समूहको सूचक ओरालो लागेका छन् । बिहीबार निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ३४.२५ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि २.७९अंकले झरेको छ ।
कारोबार रकमको आधारमा लक्ष्मी बैंकको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो । यसको ४ करोड ७० लाख ८ हजार ३०४ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा एनआइसी एशिया र कुमारी बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । एनआइसीको ३ करोड ५४ लाख र कुमारीको २ करोड ६२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज सबैभन्दा धेरै कालिका पावर कम्पनीको सेयर मूल्य करिब ५ प्रतिशतलेले बढेको छ भने अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ६.७९ प्रतिशतले घटेको छ ।