काठमाडौं । पछिल्लो समय सुनको मूल्य बढ्न थालेपछि देश विदेशमा यसको चर्चा हुन थालेको छ । विश्व आर्थिक मन्दीको संकेत देखा पर्न थालेको आँकलन गर्दै मानिसलगायत केन्द्रीय बैंकहरु समेतले आफ्नो लगानीलाई अन्य ‘एसेट’बाट सुन तर्फ मोड्न थालेपछि सुनको भाउ बढ्न थालेको अनुमान गरिएको हो ।
अर्थतन्त्रमा सुनको ठूलो र महत्वपूर्ण भूमिका रहेको छ । मूल्यहरुको निर्माण र मुद्राको रुपमा पनि सुनको प्रयोग हुन थालेको धेरै भइसक्यो । केही दशक अघि त झन् सुनको महत्व र भूमिका अर्थतन्त्रमा झन् बढि थियो ।
साँस्कृतिक इत्यादी क्षेत्रमा पनि सुनले आफ्नो सौन्दर्य मूल्य गजबले स्थापित गरेको छ ।
मानव सभ्यताको सुरुवाती तथ्य के हो भने मुद्राको विश्वसनिय स्वरुप सुन हो । हुन त यो संसारकै बहुमूल्य धातु होइन । सुनभन्दा हजारौं गुणा महंगा धातुहरु थिए र छन् । यद्यपी सुन नै मुद्राको रुपमा प्रचलित भयो ।
विश्व अर्थतन्त्रको रङ्गमञ्चमा अमेरिकी अर्थतन्त्र गिजोलिदैं गएर अमेरिकी डलर कमजोर हुँदै गएपछि यो व्यवस्था पनि अन्य बलिया राष्ट्रहरुले नकार्दै गए । र, अन्तत १९७३ मा फ्री फोल्टिङ करेन्सीको अवधारणा अघि आयो ।
सुन मुद्राको स्वरुप मात्र होइन, कसैलाई सम्मान गर्नु परे पनि सुनले नै विभूषित गरिन्छ । यो गरिमाको प्रतिक पनि हो । ओलम्पिक इत्यादी प्रतियोगिताहरुमा विजेताले ‘स्वर्ण पदक’ पाउँछ, ‘हिरापदक’ होइन । त्रिभुवन विश्वबिद्यालयले पनि कुनै संकायको टपरलाई दिने उपाधी गोल्ड मेडल नै हो । सुनको उपादयता र गरिमाको थप चर्चा उति आवश्यक कुरा होइन ।
‘द गोल्ड स्ट्यान्डर्ड’, ‘ब्रेटन वुड्स’ सम्झौता र ‘फ्री फोल्टिङ करेन्सी’
१८७० देखि प्रचलनमा रहेको ‘द गोल्ड स्ट्यान्डर्ड’ मौद्रिक व्यवस्था पहिलो विश्व युद्धदेखि विस्तारै हट्दै गयो । यो व्यवस्था हरेक देशले आफूसँग भएको सुनको भण्डारण बराबर मात्रै नगद छाप्न सक्थे र त्यसलाई द गोल्ड स्ट्यान्डर्ड भनिन्थ्यो । तर, सन् १९४४ को ब्रेटन वुड्स सम्झौँताले विश्वमा नयाँ मौद्रिक व्यवस्था अन्र्तगत १ अमेरिकी डलर बराबर ३५ ‘आउन्स’ सुन कायम गर्यो र अन्य मुद्रा अमेरिकी डलरसँग बाँध्ने सम्झौँता भयो ।
विश्व अर्थतन्त्रको रङ्गमञ्चमा अमेरिकी अर्थतन्त्र गिजोलिदैं गएर अमेरिकी डलर कमजोर हुँदै गएपछि यो व्यवस्था पनि अन्य बलिया राष्ट्रहरुले नकार्दै गए । र, अन्तत १९७३ मा फ्री फोल्टिङ करेन्सीको अवधारणा अघि आयो । यो व्यवस्थाले हरेक राष्ट्रको मुद्रा मूल्य त्यसको माग र आपुर्तिले जनाउने भयो । र, विधिवत रुपमा अन्त्य भयो ‘स्वर्ण मुद्राको’ युग ।
डलर ‘भर्सेस’ सुन
आज सुनलाई डलरले प्रतिस्थापन गरेता पनि सुनलाई हेर्ने नजर र आकार भने फेरिएको छैन । कमोडिटी बजारमा सर्वाधिक लगानी गरिने वस्तुमा सुन नै पर्छ । केन्द्रिय बैंकहरुले पनि ठूलो मात्रामा सुन भण्डारण गरेका हुन्छन् ।
तथ्याङक हेर्ने हो भने अमेरिकी केन्द्रिय बैंकले ८ हजार १ सय ३४ टन सुन भण्डारण गरेको छ । यसैगरी जर्मनी, इटाली र फ्रान्सले पनि क्रमशः ३ हजार ३ सय ७१, २ हजार ४ सय ५२ र २ हजार ४ सय ३६ टन सुन भण्डारण गरेका छन् । त्यस्तै रसिया र चीनसँग क्रमशः १ हजार ९ सय १० र १ हजार ८ सय ५३ टन सुन भण्डारण रहेको छ । भारतसँग पनि ५ सय ६० टन सुन भण्डारण रहेको छ ।
‘वर्ल्ड गोल्ड काउन्सिल’का अनुसार भारतीय गृहिणीहरुसँग मात्र २५ हजार टन सुन रहेको छ । यो भनेको प्रमुख १० देशको केन्द्रीय बैंकको भण्डारण भन्दा पनि धेरै हो ।
सामान्य मानिसहरुले पनि जाने–बुझेको कुरा के हो भने डलरको मूल्य घट्दा सुन महङ्गीन्छ । र, डलर बढ्दा सुन सस्तिन्छ । अर्थतन्त्रमा कुनै दुई वस्तुको यस्तो सम्बन्धले यी दुई वस्तु एक–अर्काका विकल्प हुन भन्ने जनाउँछ ।
खासमा यसो हुनुमा कुनै ठूलो रहस्य छैन । सुनको मूल्याङ्कन गरिने पनि डलरमै हो । डलर घट्नु भनेको अन्य मुद्राको तुलनामा कमजोर हुनु हो, यसको क्रयशक्ती घट्नु हो । तर्सथ, डलरको मूल्य घट्दा अन्य मुद्राको क्रयशक्ति बढ्छ र कमोडिटीको माग बढ्ने हुन्छ, सुनको माग पनि बढ्छ जसले गर्दा सुनको भाउमा वृद्धि हुन्छ ।
यो मात्र होइन, माथि चर्चा गरिए जस्तो, सुन र डलर वैकल्पिक वस्तु पनि हुन् । जब डलरले आफ्नो मूल्य गुमाउँदै जान्छ, लगानीकर्ताहरुले मूल्य संचित गराउने उत्तम विकल्प पनि सुनलाई नै ठान्छन् । यो तथ्याङ्कले नै देखाएका यर्थाथ हो ।
यद्यपी, सुनको मूल्य निर्धारण गर्ने ‘उपकरण’ डलरको घटबढ मात्र होइन । उपभोक्ताको माग, व्याजदर, मुद्रास्फिती इत्यादी अर्थतन्त्रका विविध कारणले पनि सुनको मूल्य निर्धारण गर्छ । त्यस्तै भू–राजनीति र साँस्कृतिक कारणहरुले पनि सुनको मूल्यमा असर पार्ने गरेको छ ।
विश्व मानचित्रको यो भेगमा सुनलाई सुख–दुखको साथी मान्ने चलन छ । यो तर्कपूर्ण पनि छ । जब कुनै पनि सरकार वा संरचना माथि आम मानिसहरुको विश्वास खस्किदैं जान्छ, सुनको मूल्य आकाशिदै जान्छ । अर्थात, मान्छे आफ्नो चल–अचल सम्पत्ति सुनमा ओइर्याउँछन् । यसले पनि सुनको महत्व दर्शाउँछ, आधुनिक अर्थव्यवस्थामा ।