काठमाडौं । पछिल्लो समय नेपालमा फरक फरक प्रकृतिका होटल, रेष्टुरेन्ट खुल्ने क्रम बढेको छ । अरूभन्दा केही नयाँपन दिन सके सहजै व्यवसाय चल्ने विश्वासका साथ विशेष पहिचान भएका होटल तथा रेष्टुरेन्ट खोल्ने क्रम बढेको हो ।
उस्तै प्रकृतिको व्यवसाय संचालन गर्दा तीव्र प्रतिस्पर्धा गर्नु पर्ने भएकाले भिन्न खाले व्यवसाय चलाउने ट्रेन्ड बढ्दै गएको देखिन्छ । पछिल्लो समय शुद्ध स्थानीय, अर्ग्यानिक, जाती विशेष खाना पाइनेदेखि विशेष एक परिकार मात्र पाइने रेष्टुरेन्ट खुल्न थालेका छन् । यसरी खुलेका अधिकांश रेष्टरेन्टहरुको आआफ्नै विशेषता हुने गरेका छन् । जसले ग्राहकको ध्यान तान्न सकोस् ।
यसैक्रममा, एउटा फरक कन्सेप्टका साथ काठमाडौंको शंखमूलमा खुलेको छ ‘उजामा’ क्याफे । अन्य क्याफेहरूभन्दा भिन्न विशेषता बोकेको यस क्याफेमा कफीसँगै पुस्तकालय (लाइब्रेरी) पनि राखिएको छ । जहाँ जो कोही गएर कफी पिउँदै पुस्तक पढेर घण्टौं बिताउन सक्छन् ।

४ महिना अघि खुलेको यो उजामा क्याफे एण्ड रेष्टुरेन्ट विद्यार्थीहरूको लागि राम्रो आकर्षणको थलो बन्न थालेको छ । बिहान ६ः३० बजेदेखि खुल्ला रहने यो क्याफेमा कलेज सकेर कफी पिउँदै किताब पढ्नेहरूको लर्को लाग्ने गर्छ ।
बेलुका ८ बजेसम्म सञ्चालन हुने यो क्याफेमा आकर्षक वातावरणीय मज्जा लिनेहरूको पनि घुइँचो लाग्ने गर्छ । विभिन्न वेष्टर्न फूडको स्वाद लिँदै जमघट गर्ने मानिसहरूको पनि कुनै कमी छैन ।
क्याफेमा स्टडी रुमको पनि व्यवस्था गरिएको छ । स्मोकिङ/नो स्मोकिङ जोनसहित विभिन्न स्थान छुट्याइएका छन् । बाल्कोनीमा बसेर समेत बाहिरको रमाइलो दृश्य हेर्दै कफी र पुस्तकको मज्जा लिन सकिन्छ ।
अफ्रिकन राष्ट्रको प्रोजेक्टबाट नामकरण
उजामा, यो शब्द पूर्वी अफ्रिकन मुलुक तान्जानिया भाषाबाट ल्याइएको हो । यसको ठेट अर्थ भने छैन । यो एउटा प्रोजेक्टको नामबाट निकालिएको नाम हो ।

बेलायतबाट सन् १९६१ मा स्वतन्त्र भएको तान्जानियाको तत्कालीन सरकारले व्यवसायलाई अघि बढाउन एउटा प्रोजेक्ट ल्याएको थियो । त्यस प्रोजेक्टको नाम ‘उजामा’ राखिएको थियो ।
उक्त प्रोजेक्ट अन्तर्गत परिवारका सबैले सानो सानो व्यवसाय गर्नुपर्ने उल्लेख गरिएको थियो । यसरी परिवार, समाज हुँदै राष्ट्रकै आर्थिक विकास हुने बताइएको थियो । उजामाका सञ्चालक लीलाराम खड्का सोही प्रोजेक्टसँग आफ्नो उद्देश्य मिल्न गएको हुँदा क्याफेको नाम उजामा राखिएको बताउँछन् ।
‘कफी, पुस्तक र विद्यार्थी’ जोड्ने योजना
उजामा क्याफे सञ्चालक खड्का ‘कफी, पुस्तक र विद्यार्थी’ जोड्ने योजना सहित क्याफे खोलेको बताउँछन् । ‘यो क्याफे विद्यार्थीहरूलाई पढ्ने वातावरण सृजना होस भनेरै बनाएको हो, अहिले किताब अलि कम छ, विस्तारै किताबहरू थप्दै लैजान्छु,’ खड्काले चाणक्य पोष्टसँग भने ‘यहाँ आएर कफी मात्र पिएर दिनभरी बसेर किताब पढे पनि हुन्छ ।’

सामान्यतया पढ्न चाहने विद्यार्थीहरू यस क्याफेमा रहेको लाइब्रेरीको सदस्य पनि बन्न सक्ने व्यवस्था मिलाइएको छ । हाल झण्डै ५०० बढी पुस्तक रहेको यस क्याफेका सञ्चालक खड्का अझै पुस्तक थप्ने योजनामा रहेको बताउँछन् ।
उनले लाइब्रेरीमा नभएका पुस्तकको नाम र लेखकको नाम लेखेर छाडे उपलब्ध गराउने व्यवस्था रहेको बताए । लाइब्रेरीमा १ हजार रुपैयाँ सदस्य दस्तुर तोकिएको छ । सदस्य भएपछि किताब घरमै लगेर पनि पढ्न पाइने व्यवस्था रहेको छ । उनले पुस्तक १ हप्ता भित्र फिर्ता नगरेको अवस्थामा एक दिन ढिला गर्दा ५० रुपैयाँ र दिन थपिँदै गए त्यसै अनुसार ५० रुपैयाँ जोडिँदै जाने बताए ।
उनले क्याफेको लाइब्रेरीमा सदस्य रहेका विद्यार्थीका लागि कफीमा डिस्काउन्टको पनि व्यवस्था गरिएको जानकारी दिए । क्याफेको लाइब्रेरीमा अंग्रेजी, नेपाली, धर्मग्रन्थ, उपन्यासदेखि हरेक प्रकारका पुस्तकहरू राखिएको छ ।
विद्यार्थीलाई ‘पार्ट टाइम’ रोजगारको अवसर

४० लाख रुपैयाँ लगानीमा खुलेको यो क्याफेमा ७५ जना क्षमताको रहेको छ । ९ जना विद्यार्थीलाई पार्ट टाइम रोजगार दिएका उनले घण्टाको ४० रुपैयाँ दिएर रोजगार प्रदान गरेका छन् ।
अनुकूल समयको पढाइका कारण रोजगार नपाउने गरेका विद्यार्थीका लागि उनले घण्टाको हिसाबले पार्ट टाइम रोजगार समेत दिएका छन् । १० वर्षदेखि पर्यटन प्रबद्र्धनमा लागेका उनले विदेशमा जस्तै नेपालमा पनि पढ्दै काम गर्ने वातावरण सृजना गर्नको निम्ति पनि यो क्याफे सञ्चालनमा ल्याएको बताए ।
‘विदेशमा पढ्न जाने विद्यार्थीहरू पढेर बाँकी रहेको थोरै समयमा काम गर्न पाउँछन्, नेपालमा पनि त्यस्तै गर्न सकिन्छ कि सकिँदैन भनेर पनि यो क्याफे खोलेको हो,’ खड्काले भने ‘११/१२ बजे कलेज छुट्ने विद्यार्थीको लागि सिक्दै पकेट खर्च जुटाउने ठाउँ बनाएका छौं ।’ उनले विस्तारै यसको अन्य नयाँ शाखाहरू पनि खोल्ने योजना रहेको बताए ।
