काठमाडौं । जोन्टा क्लब अफ काठमाडौंले समाजमा प्रेरणादायिक काम गरेका १४ जना महिलालाई सम्मान गरेको छ ।अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा क्लबले महिलाहरूलाई आफ्नो वार्षिक कार्यक्रम यलो रोज डे अन्तर्गत आइतबार सम्मान गरेको हो ।
महिला सशक्तिकरणका वास्तविक पात्रहरूलाई सम्मान गर्दा सम्पूर्ण समाजमा नै सकरात्मक प्रभाव पर्ने र अन्य महिलाहरूलाई पनि आफ्नो क्षेत्रमा उत्कृष्ट काम गर्ने प्रेरणा मिल्ने आयोजक जोन्टा क्लब अफ काठमाडौंले जनाएको छ ।
प्रिन्सेस हेलेन शाह इनस्पिरेशनल वुमन अफ द इयर प्रस्तुति भट्टराई र वर्षा तामाङलाई प्रदान गरिएको थियो । त्यसैगरी क्रमश: अमर राना गेम चेन्जर अवार्ड क्याप्टेन प्रिया अधिकारी,कोभिड हिरोहरूका लागि रत्न देवी अवार्ड सुस्वप्न रिमाल,ज्योति स्कलरशिप अवार्ड वुमन इन बिजनेस स्कलरशिप वर्षा कटुवाल, वुमन इन टेक स्कलरशिप स्वीकृति मास्के, इन्द्रकला स्कलरशिप अवार्ड योङ वुमन इन पब्लिक अफेयर्स मन्दिरा श्रेष्ठ, वुमन इन स्पेस मनिषा दावा सम्मानित भएका छन् ।
त्यसैगरी,अनसंग हिरोज विधा अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न उल्लेखनीय योगदान पुर्याएका चार जना महिलालाई नबिल बैंकको सहयोगमा प्रतिव्यक्ति ३५ हजार नगद सहित सम्मान गरेको थियो । जसमध्ये, साझा यातायात टिकट कलेक्टर रेजिना बस्नेत, रोरङ् गाउँपालिकाबाट पहिलो महिला नर्स सरिता चेपाङ, झ्यालढोका बनाउँने काममा अब्बल मनु थामी र महिला ट्याक्सी चालक ईश्वरी थापालाई सम्मान गरिएको थियो ।
परम्परागत रुपमा पुरुष प्रधान मानिएका क्षेत्रहरूमा महिलाहरूले आफ्नो अब्बल उपस्थिति जनाएका छन् । कठिनाई र चुनौतीको वावजुद पनि आफ्नो विधामा उत्कृष्ट काम गर्न सफल यस्ता महिलाहरूलाई सम्मान गर्न पाउनु आफैंमा एउटा गौरवको विषय भएको जोन्टा क्लबले जनाएको छ ।