१ अर्ब खर्चेर अत्याधुनिक भवन बनाउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो ।

 

महानगरले ९४ करोड ३२ लाख ३० हजार २७१ रुपैयाँ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको हो । सङ्घीय सरकारबाट ३५ करोड र वाग्मती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम सुनिश्चितता भइसकेको छ । रकम नपुग भएमा महानगरपालिकाले थप गर्ने छ । भूमिगत (अण्डरग्राउण्ड) पार्किङ सोे भवन १४ हजार १५२ वर्गमिटरको हुने छ ।

 

महानगरको आफ्नो खर्चले धान्न मुस्किल हुने भएपछि संघ र प्रदेशबाट रकम जुटाएर भवन निर्माणको प्रक्रिया थालिएको हो ।महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले भवन ३० महिनाभित्र सम्पन्न गर्ने गरी बोलपत्र आव्हान गरिएको जनकारी दिए।

 

भवनको भूमिगत तलामा ५० कार र २५० वटा मोटरसाइकल पार्किङ गर्न सकिने छ । दुई बिघा १३ कठ्ठा १६ धुर जमिन रहेको क्षेत्रमा भवन बाहिर पनि पार्किङ र बगैँचा निर्माण गर्न ठाउँ रहने गरी भवन बनाउन लागिएको उनको भनाइ छ ।

 

भवनमा दुई लिफ्ट हुनेछन् । ज्येष्ठ नागरिक प्रतीक्षा कक्ष, पुस्तकालय, सांस्कृतिक प्रदर्शनी कक्ष, सभाहल, हरेक तलामा दुई÷दुई बैठक कक्ष हुने उहाँको भनाइ छ । भवनमा १५८ सानाठूला कार्य कक्ष रहने छन् भने २२१ कोठा रहने छन् । भवनका हरेक तलामा अपागमैत्री शौचालयसहित प्रत्येक तलामा पुरुष र महिलाका लागि अलग्गै शौचालय रहने छ ।

 

पूर्ण अपाङ्गमैत्री सो भवनले आउँदो ६० वर्षसम्म सेवा दिन सक्ने गरी नक्साङ्कन गरिएको सुवेदीले जानकारी दिए । हाल महानगरमा ३ लाख ६९ हजार जनसङ्ख्या रहेको छ ।

 

महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले भवन निर्माण भएसँगै महानगरवासीलाई सहजरुपमा सेवा प्रवाह गर्न सकिने बताइन्। हाल पुरानो र साँघुरो भवनबाट सेवा दिन परिरहेको छ । कतिपय महाशाखा र शाखा फरक फरक ठाउँमा हुँदा नगरवासीले झन्झट बेहोर्नुपरेको उनको भनाइ छ ।

ठूला हाउजिङ प्रोजेक्ट अघि बढाउँदै उत्तर कोरिया, १० हजार अपार्टमेन्ट निर्माण सुरू Read Previous

ठूला हाउजिङ प्रोजेक्ट अघि बढाउँदै उत्तर कोरिया, १० हजार अपार्टमेन्ट निर्माण सुरू

३ अर्बको आइपीओ ल्याउन लागेको हिमालयन रि इन्स्योरेन्सले ६ महिनामा कति कमायो ? Read Next

३ अर्बको आइपीओ ल्याउन लागेको हिमालयन रि इन्स्योरेन्सले ६ महिनामा कति कमायो ?