ठूला हाउजिङ प्रोजेक्ट अघि बढाउँदै उत्तर कोरिया, १० हजार अपार्टमेन्ट निर्माण सुरू

काठमाडौं । उत्तर कोरियाले प्राथमिकताका साथ आवास अभियान सुरू गरेको छ । राजधानी प्योङयाङमा १० हजार अपार्टमेन्टको आवासीय परियोजनाको काम सुरू गरेको हो ।

 

विश्वका अधिकांश देशको व्यापारिक नाकाबन्दी र कोभिड महामारीले आक्रान्त उत्तर कोरियाको अर्थतन्त्रमा सुधार ल्याउन यो योजना अघि बढाएको हो ।

 

हालै राष्टपति किम जोङ उनले उक्त परियोजनाको उद्घाटन गरेका हुन् । सो समारोहमा नागरिकको ठूलो सहभागिता थियो । जसले यो ठूलै स्तरको परियोजना भएको स्पष्ट पार्दछ ।

 

‘राजधानी सहरको सुनौलो वर्षलाई अझ उज्ज्वल बनाऔँ’ भन्ने शिर्षकको भाषणमा किमले यस प्रोजेक्टमा काम गर्ने सबै कामदार र समारोहमा उपस्थित आर्मीहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।

 

यस परियोजनाको डिजाइन बारेमा कमै मात्र खुलाइए पनि सार्वजनिक तस्वीरहरू अनुसार यो आकर्षक र आधुनिक हाउजिङ योजना रहेको देखिन्छ । यस परियोजनामा राजधानीको ह्वासोङ क्षेत्रमा अग्ला अग्ला भवन, व्यवस्थित हरित् सडक चित्रण छ । जहाँ सबैभन्दा अग्लो ४० तलाको भवन समेत छ ।

 

उत्तर कोरियाको सरकारी दैनिक पत्रिका रोडोङ सिनमुनमा यो परियोजनाले समृद्ध शक्तिको नयाँ दुनियाँ सिर्जना गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ । जहाँ जनताले सबैभन्दा उच्चतम गरिमा र खुसीको अनुभव लिन पाउने भनिएको छ ।

यो विकास फराकिलो आवास अभियानको एक हिस्सा रहेको किमले बताएका छन् । जसमा सरकारले २०२५ को अन्त्यसम्म प्योङयाङमा ५० हजार नयाँ घरहरू बनाउने प्रतिबद्धता गरेको छ ।

 

कठिन चुनौपूर्ण समस्याहरूका बीच पनि सरकारले जनताको जीवनस्तरमा सुधार ल्याउन लगातार काम गरिरहेको अघिल्लो महिना मात्र किम सरकारले स्वीकार गरेको थियो । उत्तर कोरियाले एकदम दुर्लभै यस किसिमले आफ्ना संघर्षहरू सार्वजानिक गर्ने गरेको छ ।

 

आणविक हतियार कार्यक्रम र आफ्नो निकटतम सहयोगी चीनसंगको व्यापार व्यापार घट्दै गएको बताइएको छ । सन् २०२० देखि उत्तर कोरियालको अर्थतन्त्र ओरालो दिशामा छ । कोरोनाका कारण किमको सरकारले आफ्नो सिमाना बन्द गरेको थियो । यद्यपि, गत महिनादेखि रेलमार्फत माल ढुवानी पुनः सुरू भएको छ।

 

लामो समयदेखिको हाउजिङ संकट

 

उत्तर कोरियामा धेरै लामो समयदेखि नै हाउजिङ संकट जारी छ । अध्ययनका अनुसार त्यहाँका ७० देखि ८० प्रतिशत जनताका लागि मात्र पर्याप्त घर छ । यस किसिमका निर्माणधीन परियोजनाहरूलाई किमले देशका उपलब्धीबारे प्रचार गर्न प्रोपागान्डाका रुपमा पनि प्रयोग गर्ने गरेका छन् ।

 

गत महिना उत्तर कोरियामा प्रशारण गरिएको ‘द ग्रेट इयर अफ भिक्टरी २०२१’ शिर्षकको एउटा डक्युमेन्टरीमा पनि किम यो परियोजनाको साइट भ्रमणमा गएको देखाइएको छ ।

 

राजधानी प्योङयोङमा बस्नेहरूको जीवनस्तर देशका अन्य भूभागभन्दा धेरै राम्रो छ । यस्तोमा पछिल्ला केही वर्षहरूमा प्योङयोङमा यस्ता धेरै ठूला स्तरका प्रोजेक्ट घोषणा भएका छन् ।

अग्ला भवन सम्बन्धी डाटाका अनुसार हाल उत्तर कोरियाली राजधानीमा १५० मिटरभन्दा माथिका १५ भवन निर्माण सम्पन्न छन् । ती मध्ये चारवटा टावर प्योङयोङको लक्जरी क्षेत्र र्योङम्योङमा पर्दछन् । र राष्ट्रिय संचारको रिपोर्ट अनुसार पूर्वी प्योङयोङ क्षेत्रमा भर्खर नयाँ बनेका १० हजार भवनहरू पनि सम्पन्न हुन लागेका छन् ।

 

निर्माण परियोजनाहरू तीव्र गतिमा

 

राष्ट्रिय संचार केसीएनएले यस्ता निर्माण परियोजनाहरूले प्योङयोङ तीव्र गतिमा विकसित भइरहेको दाबी गर्ने गरेको छ । जस्तै यसमा र्योङयोङ न्यू टाउनको एक ७० तले भवन केबल ७४ दिनमै निर्मित भएको भनेर व्यापक चर्चा गरिएको थियो । तर विज्ञहरूले चाहिँ निर्माण सामग्रीको गुणस्तरबारे चिन्ता जनाइरहेका छन् । किनकी त्यस किसिमको गतिमा निर्माण कार्य सम्पन्न गर्न एकदमै जानकार टेकनिकलको आवश्यकता पर्ने बताइएको छ ।

 

यसअघि २०१४ मा दर्जनौँ परिवार बसोबास गर्न बनाइएको प्योङयोङको प्योङछोन जिल्लाको अपार्टमेन्ट भवन भत्किएको थियो । यो घटनामा भएको जनधनको क्षतिबारे कुनै आधिकारिक जानकारी दिइएको छैन । केसीएनएले पछि गैरजिम्मेवारीपूर्ण निगरानीका कारण यस्तो भएको भनेर जनाएको थियो ।

 

त्यस्तै राजधानीमै जारी अन्य परियोजना जस्तै र्युग्योङ होटल अझैपनि निर्माणकै प्रक्रियामा छ । यसले निर्धारित १,०८३ फिटको उचाइ भने १९९२ मै प्राप्त गरेको थियो तरपनि दशकौँसम्म यसको काममा ढिलाइ गरिएको छ । सो होटलमा ३ हजार बढी कोठा छन् र सम्पन्न नहुने विश्वकै सबैभन्दा अग्लो भवनमा पर्दछ ।-सीएनएन

नेपाल एयरलाइन्सले पायो साउदी अरब उडानको अनुमति, कहिलेदेखि हुन्छ नियमित उडान ? Read Previous

नेपाल एयरलाइन्सले पायो साउदी अरब उडानको अनुमति, कहिलेदेखि हुन्छ नियमित उडान ?

१ अर्ब खर्चेर अत्याधुनिक भवन बनाउँदै भरतपुर महानगर Read Next

१ अर्ब खर्चेर अत्याधुनिक भवन बनाउँदै भरतपुर महानगर