नागढुंगा-नौबिसे सुरुङ खन्ने काम झन्डै आधा सकियो, अब कति मिटर खन्न बाँकी छ ?

निर्माणधीन नागढुंगा-नौबिसे सुरुङमार्ग ।

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम झन्डै आधा सम्पन्न भएको हो ।

 

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार हालसम्म सुरुङ खन्ने काम ४६ प्रतिशत पूरा भएको छ । आयोजनाका अनुसार हालसम्म २ हजार ५३२ मिटर सुरुङ खनिएको हो ।

 

तिहारपछि कामको गति बढाएको आयोजनाले कुल ५ हजार ४९९ मिटरमध्ये २ हजार ५३२ मिटर सुरुङ खन्ने काम पूरा गरेको हो । कामलाई तीव्रता दिन हाल दैनिक करिब १० मिटर सुरुङ खन्न थालिएको छ ।

 

कोभिडमा समेत लगातार काम भइरहेको नागढुंगा सुरुङमार्गमा हालसम्म कुल २ हजार ६८८ मिटर मुख्य सुरुङमध्ये ९९५ मिटर खनिसकिएको छ । आयोजना काठमाडौंतर्फ ४९९ मिटर र धादिङतर्फ ४९६ मिटर मुख्य टनेल खनिएको छ ।

 

त्यसैगरी, आपतकालीन (स्केप) सुरुङ अन्तर्गत हालसम्म १ हजार ३६७ मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ७९० मिटर र धादिङतर्फ ५७७ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

 

हालसम्म समग्रमा ३३ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ४० प्रतिशत प्रगति भएको छ ।

 

त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ४४ मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ २८ मिटर र धादिङतर्फ १६ मिटर निर्माण गरिएको छ ।

 

यो सुरुङमार्ग करिब २ हजार ६८८ मिटर हुनेछ । काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

 

आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै २ हजार ९६७ मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

एनसीसी बैंकका ग्राहकले नारायणी अस्पतालमा १० प्रतिशत छुट पाउने Read Previous

एनसीसी बैंकका ग्राहकले नारायणी अस्पतालमा १० प्रतिशत छुट पाउने

तारा एयरको पोखरा-जोमसोम नियमित उडान सुरू, भाडा कति ? Read Next

तारा एयरको पोखरा-जोमसोम नियमित उडान सुरू, भाडा कति ?