स्थानीय तह चुनावका लागि ८ अर्ब बजेटको सुनिश्चितता

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

 

निर्वाचन आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयले आयोगलाई स्रोत सुनिश्चितताको पत्र पठाएको जानकारी दिए ।

 

आयोगले स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ९५ करोड बजेटको व्यवस्था मिलाइदिन आग्रह गरेको थियो । आयोगले माग गरेभन्दा कम बजेटको सुनिश्चिता भए पनि निर्वाचनका लागि आवश्यक रकमको कुनै कमी हुन नदिइने प्रतिबद्धता सरकारकारबाट व्यक्त भएको उनले बताए ।

 

स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलका निवेदनमाथि जाँचबुझ भइरहेको आयोगले जनाएको छ । निर्वाचनमा सहभागी हुने दलहरुको नाम यही फागुन २६ गतेभित्र प्रकाशन गरिने आयोगले जनाएको छ ।

 

यसैगरी स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको नामावली प्राप्त भई अध्ययनको क्रममा रहेको आयोगले जनाएको छ । यही फागुन २६ गतेसम्म मतदाता नामावली अद्यावधिक हुने आयोगले जनाएको छ ।

 

मतदाता अद्यावधिक कार्यक्रमअन्तर्गत नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, झुट्टा विवरण दिई नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, एकभन्दा बढी स्थानमा समावेश भएकामा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन सकिने आयोगको भनाइ छ ।

 

यस्तै मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनका लागि सूचना दिने, उजुरी परेका मतदातालाई प्रमाणसहितको सफाइको मौका दिनेजस्ता क्रियाकलाप यही फागनु २६ गतेसम्म गर्न सकिने छ ।

रुस-युक्रेन युद्ध : अमेरिकाको तेल आपूर्ति चक्रमा कति असर ? Read Previous

रुस-युक्रेन युद्ध : अमेरिकाको तेल आपूर्ति चक्रमा कति असर ?

ग्रीन भेन्चर्सको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

ग्रीन भेन्चर्सको आइपीओ भर्ने आज अन्तिम दिन