ग्रीन भेन्चर्सको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले २ गतेदेखि आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

 

कम्पनीले पहिलोपटक तोकेको मिति फागुन १६ गतेसम्म सबै सेयरका लागि आदन नपरेपछि फागुन २३ गतेसम्म म्याद थप गरेको थियो । कम्पनीले ओखलढुङ्गा र रामेछापवासीका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता आइपीओ खुला गरेको थियो ।

 

कम्पनीको आइपीओमा ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा १, २ र ३ तथा लिखु गाउँपालिका–९ र रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–१, २ तथा उमाकुण्ड गाउँपालिका–७ का आयोजनाबाट पीडित बासिन्दाबाट सेयर खरिद गर्न दर्खास्त आह्वान गरेको थियो ।

 

कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३, तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा नं ७ मा केन्द्र रहेको कुल ५२.४ मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत्’ आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु १२ अर्ब ८ करोड हुने जनाएको छ ।

 

आयोजनाबाट पीडितक्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि दर्खास्त दिन पाउने छन् । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

 

यसका साथै लक्ष्मी बैंकको रामेछापको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबीबजार शाखा, मेगा बैंकको मन्थली शाखा, मेगा बैंकको ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा शाखा तथा आयोजनास्थलबाट पनि सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

 

धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार केयर रेटिङ कम्पनीले ग्रीन भेन्चर्सलाइ ‘केयरनपी–आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको थियो । रेटिङअनुसार कम्पनीको अवस्था र दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको हुन्छ ।

स्थानीय तह चुनावका लागि ८ अर्ब बजेटको सुनिश्चितता Read Previous

स्थानीय तह चुनावका लागि ८ अर्ब बजेटको सुनिश्चितता

महाकाली नदीमा नेपाल-भारत जोड्ने मोटरेबल पुल निर्माण सुरू Read Next

महाकाली नदीमा नेपाल-भारत जोड्ने मोटरेबल पुल निर्माण सुरू