काठमाडौं । देशकै लाइफलाइन नागढुंगा–मुग्लिन सडक विस्तार अघि बढ्न सकेको छैन् । विश्व बैंकको ऋण सहयोगमा विस्तार हुन लागेको यो सडक ‘नो अब्जेक्सन’ नआउँदा रोकिएको हो ।
उक्त सडक खण्डको प्रस्थान विन्दु (नागढुंगा नौबिसे) सुरूङमार्ग धमाधम निर्माण भइरहे पनि सडक विस्तार भने अझै अघि बढ्न सकेको छैन । ठेक्का मूल्यांकन सकी दाता विश्वबैंकलाई पत्र पठाइए पनि अहिलेसम्म जवाफ नआउँदा उक्त सडक विस्तारले गति लिन नसकेको हो ।
सडक विभागका महानिर्देशक शिवहरि सापकोटाका अनुसार ठेक्का मूल्यांकन गरी नो अब्जेक्सनका लागि पठाइएको छ । मूल्यांकनमा परेका निर्माण कम्पनीलाई विश्व बैंकले काम अघि बढाउन नो अब्जेक्सन लेटर पठाउनुपर्ने छ ।
उनले विश्व बैंकको ब्यूरोे क्याट्रीक च्यानलबाट नो अब्जेक्सन आएपछि मात्र ठेक्का अघि बढाउने अन्य प्रकृया अघि बढ्ने बताए । ‘हामीले इभ्यालुएसन गरेर नो अब्जेक्सनका लागि पठाएका छौं, विश्व बैंकबाट नो अब्जेक्सन आएपछि मात्र हामीले अन्य प्रकृया अघि बढाउन सक्छौं, त्यो नभएसम्म काम सुरू हुन्न,’ सापकोटाले चाणक्य पोष्टसँग भने ‘विश्व बैंककै ऋणमा बनाउन लागेको हो, हामीले मात्र सरासर केही गर्न मिल्दैन ।’
स्टार्टस्टिक रोड कनेक्टीभिटी एण्ड ट्रेण्ड इम्प्रुभमेन्ट (एसआरसीटीआई) अन्तर्गत जोइन्ट लगानीमा नागढुंगा–मुग्लिन सडक विस्तार गर्न लागिएको हो । ९१.८ किलोमिटर लम्बाइ रहेको नागढुंगा–मुग्लिन सडकखण्ड निर्माणका लागि २ वटा प्याकेजमा टेन्डर आह्वान गरिएको थियो । सडक विभागले २०७७ मै बोलपत्र आह्वान गरेको थियो ।
नागढुंगा–मुग्लिन सडकखण्ड विस्तार परियोजना बोलपत्रमा चिनियाँ कम्पनीले प्रतिस्पर्धा गरेका थिए । केही भारतीय, नेपाली र चिनियाँ कम्पनी तथा नेपाली र भारतीय कम्पनीको ज्वाइन्ट भेन्चर कम्पनीले पनि बोलपत्र पेस गरेका थिए ।
सो मध्ये मूल्यांकन भई विश्व बैंकलाई नो अब्जेक्सनका लागि पठाइए पनि हालसम्म कुनै ठोस निर्णय आइसकेको छैन । उक्त निर्णय नआएसम्म आयोजनाले कुनै गति पाउने छैन ।
नागढुंगा–मुग्लिन सकड विस्तारका क्रममा भौगोलिक अवस्था अनुसार कतै २, ३ र ४ लेनका सडक बनाइने छन् । यो खण्डको ३६ किलोमिटर खण्ड ३ लेनको हुनेछ । बस्ती र बजार क्षेत्रको सडक ४ लेनको हुने छन् । उकालो भएका स्थानमा ३ लेनमा सडक बनाइने छ ।
यस सडकखण्डमा २१ ओटा पुल बन्नेछन् । पुल भने सबै चार लेनको हुने बताइएको छ । हाल सञ्चालनमा रहेका पुल नभत्काई सडकको चौडाइ अनुसार नै छेउमा पुल निर्माण गरिनेछ । बजार क्षेत्रमा स्थानीयलाई सडक पार गर्न सहजता प्रदान गर्न १० वटा आकाशेपुल पनि निर्माण गरिनेछ ।
यो सडक स्तरोन्नति गर्न करिब १९ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यसका लागि विश्व बैंकको सहयोगमा नपुग रकम नेपाल सरकारले खर्च गर्नुपर्नेछ ।
वर्षौंदेखि सामान्य मर्मतका भरमा चलाइँदै आएको यो सडक वर्षामा समयमा जीर्ण बन्ने गरेको छ । साँघुरा सडक बावजूद यो खण्डमा दैनिक २० हजार बढी सवारी आवातजावत गर्ने गर्छन् ।