४ हजार वटा महँगा कार बोकेको पानीजहाज डुब्यो

काठमाडौं । पोर्चुगलको अजोर्ज द्वीपसमूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार बोकेको एउटा पानीजहाज डुबेको छ। झन्डै दुई साताअघि उक्त कार्गो जहाजमा आगलागी भएको थियो।

 

फेलिसिटी एस नामक उक्त जहाजले पोर्श र बेन्ट्लीसहित झन्डै ४ हजार वटा कार बोकेको थियो।जर्मनीको बन्दरगाह एम्डेनबाट उक्त जहाज संयुक्त राज्य अमेरिकाको रोड आइल्यान्डका लागि हिँडेपछि त्यसमा आगो लागेको थियो।

 

फेब्रुअरी १६ मा आगलागी भएपछि जहाजको चालकदलका सबै सदस्य र कर्मचारीलाई उद्धार गरिएको थियो।

 

३,५०० मिटर तल

 

सबैभन्दा नजिकै रहेको फाइअल टापुको बन्दरगाहका प्रमुख जोआओ मेन्जिस काबेससले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार समुद्रमा तेल चुहिएको थाहा भएको छैन। यद्यपि उनले जहाजको इन्धन ट्याङ्कीमा क्षति पुगेको आशङ्का भएको बताए।

 

पानीमा डुबेको जहाज आन्ध्र महासागरभित्र झन्डै ३,५०० मिटर गहिराइमा पुगेको बताइएको छ।पोर्चुगलको जलसेनाले जहाजमा आगलागी हुँदा कोही पनि घाइते नभएको र सबै २२ कर्मचारीलाई उद्धार गरेर एउटा होटलमा लगिएको बताएको छ। जलसेना, सो क्षेत्रमा हिँडिरहेका चारवटा अन्य पानीजहाज र पोर्चुगलको वायुसेना उद्धारकार्यमा सहभागी भएका थिए।

 

कारनिर्माता कम्पनी फोक्सवागेनका अनुसार उसले पठाएका कारको बीमा गरिएको थियो। रोएटर्सका अनुसार त्यसको कुल मूल्य १५.५ करोड डलरजति छ।डुबेको जहाजमा आफ्ना १८९ वटा कार भएको बेन्ट्लीले जनाएको छ भने पोर्शका अनुसार त्यसमा उसका १,१०० वटा कार थिए।

 

एक ग्राहकले आफ्नो पोर्श कार पनि उक्त जहाजमा भएको बताएका छन्। अर्का एक व्यक्तिले आफूले फेरि अर्को कार अर्डर गरेको भन्दै ट्वीट गरेका छन्। बीबीसी

ऊर्जा क्षेत्रको गेम चेञ्जर एमसीसी अनुदान 'प्रसारण लाइन', जग्गा प्राप्ति र रुख कटान मुख्य चुनौती Read Previous

ऊर्जा क्षेत्रको गेम चेञ्जर एमसीसी अनुदान 'प्रसारण लाइन', जग्गा प्राप्ति र रुख कटान मुख्य चुनौती

आइएमईको ‘होस्टेमा हैंसे’ अफर : पैसा पठाउँदा डेढ लाख पुरस्कार Read Next

आइएमईको ‘होस्टेमा हैंसे’ अफर : पैसा पठाउँदा डेढ लाख पुरस्कार